धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ नडाहा धरान जङ्गलबाट प्रहरीले आइतबार चेकिङको क्रममा बा.१८ च ३८३४ नम्बरको कारलाई चेकजाँच गर्दा १३० केजी गाँजा बरामद गरेको छ ।
गाडीको सिट र डिकीमा कालो प्लाष्टिकमा प्याक गरिएको अवस्थामा पाँच वटा पोका बरामद गरेको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र शसस्त्र प्रहरी बेस क्याम चतराबाट खटिएको संयुक्त चेकिङ टोलीले कारसहित कार चालक इटहरी उपमहानगरपालिका १७ पकलीका २४ वर्षीय करण साह र कारमा सवार मोरङ विराटनगर महानगरपालिका–५ का २१ वर्षीय सचिन मेहतालाई नियन्त्रणमा लिएको छ । उनीहरू दुवैलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले शनिबार दिउँसोतिर बेवारिसे अवस्थामा ३७७ केजी गाँजा बरामद गरेको छ । कोशी गाउँपालिका–८ मा बेवारिसे अवस्थामा ११ बोरा राखिएको अवस्थामा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भान्टाबारी सुनसरीबाट खटिएको संयुक्त टोलीले गाँजा बरामद गर्न सफल भएको हो । प्रहरीले बरामद गाँजाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । यस्तै सुनसरीको इनरुवा नगरपालिका–३ महेन्द्र चोकमा सेतो बोरा र कालो झोलाबाट १० केजी गाँजा र दुई दशमलव १८ ग्राम ब्राउन सुगर बरामद गरेको छ । प्रहरीले बेवारिसे अवस्थामा गाँजा बरामद गरेको हो ।
यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१९ धनकुटे रोडस्थित शङ्कास्पद रूपमा हिँडिरहेका धरान १० का निरफुङ बस्नेतलाई पक्राउ गरेको छ । प्रहरीले शनिबार दिउँसोतिर चेकजाँच गर्दा विभिन्न नामका पाँच सय ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएका छन् । यस्तै धरान उपमहानगरपालिका–१६ नौलोबस्तीबाट सोही ठाउँका २९ वर्षीय विष्णु सुब्बालाई नियन्त्रणमा लिएको छ । शङ्का लागी जाँदा गर्दा विभिन्न नामका ९ सय ट्याब्लेट लागूऔषध बरामद गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
































