धरान । सङ्खुवासभाको मादी नगरपालिकामा पतिले रिसको झोँकमा आफ्नै पत्नीको हत्या गरी अलैँचीबारीमा पुरेको पाइएको छ ।
मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पाले आफ्नै पत्नी मीना शेर्पाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापश्चात् उनी स्वयम्ले पत्नी हराएको भन्दै उजुरी दिएका आएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । प्रहरीका अनुसार ओखरबोटे बजारबाट फर्किने क्रममा विवाद भएपश्चात् प्रेम दोर्चीले मीनालाई कुटपिट गरी हत्या गरेका थिए ।
हत्यापश्चात् स्थानीय अलैँचीबारीमा खाडल खनी त्रिपालले बेरेर शव गाडेको प्रहरीमा बयान दिएका छन् । हराएको निवेदन दिन आएका उनलाई प्रहरीले केरकार गरेपछि आफैले मारेको स्वीकार गरेका थिए । घटना मङ्सिर ९ गतेको हो । उनले सोही दिन राति साढे १० बजेतिर हत्या गरी शव पुरेका थिए । घटना भएको झण्डै १७ दिनपश्चात् मङ्सिर २७ गते प्रहरी चौकी मादी मङ्गलबारेमा पत्नी हराएको निवेदन दिन पुगेका थिए । प्रहरीले खोजतलास तथा सोधपुछका क्रममा पतिप्रति नै शङ्का उब्जिएपछि केरकार गर्दा मारेको स्वीकार गरेका थिए ।
उनी स्वयम्ले हत्या गरेको स्वीकार गरेको डिएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले अलैँचीबारी उत्खनन् गर्दा त्रिपालले बेरेको अवस्थामा महिलाको शव फेला पारेका थिए । उनको शव कुहिएको अवस्थामा फेला परेका थियो । आरोपित दोर्चीलाई आइतबार सङ्खुवासभा जिल्ला अदालत चैनपुरबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
































