काठमाडौँ । युके (बेलायत) पठाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी केन्द्रीय प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमार्फत् प्राप्त सूचनाअनुसार ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्दै आएका काठमाडौँ महानगर–१७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह र भक्तपुर मध्यपुर थिमी नगरपालिका–९ बस्दै आएका दोलखा मेलुङ गाउँपालिका–७ घर भएका ५१ वर्षीय नरबहादुर श्रेष्ठ भनिने लड्डुबहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो ।
उनीहरूले युकेमा आकर्षक तलब हुने प्रलोभन देखाई ४८ जनाबाट चार करोड ३९ लाख ५१ हजार पाँच सय ५८ रुपैयाँ लिई सम्पर्कविहीन भएको पीडितहरूले दिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडितहरूले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा काठमाडाँै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापा जिल्ला प्रहरी कार्यालको समन्वयमा झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई झापा जिल्ला प्रहरी कार्यालयले काठमाडौँ पठाएको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला परिसर काठमाडौँ पठाइएको छ । उनीहरूले विभिन्न समयमा ठगी गरेको पाइएको छ ।































