धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका सुनसरीका तत्कालीन सव–इन्जिनियर शिवनारायण मण्डलले नक्कली शैक्षिक प्रमाण–पत्र प्रयोग गरी सरकारी सेवा प्रवेश गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

आयोगमा प्राप्त उजुरीका आधारमा गरिएको अनुसन्धानमा मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट माध्यमिक तह उत्तीर्ण भएको झुटो दाबी गर्दै नक्कली प्रमाण–पत्र पेश गरेको पाइएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन् । उनले मडैया बलुवा उच्च विद्यालयको विद्यालय परित्याग सम्बन्धी कागजातसमेत नक्कलीरूपमा प्रयोग गरेको अनुसन्धानमा खुलेको आयोगले जनाएको छ ।

नक्कली प्रमाण–पत्रका आधारमा मण्डलले जिल्ला विकास समिति सुनसरीमा २०५३ साल साउन १ गतेदेखि सहायक सव–ओभरसियर (रा.प.अनं. द्वितीय) पदमा स्थायी नियुक्ति पाएका थिए । साथै २०६७ साल माघ ७ गतेदेखि सहायक इन्जिनियर पदमा पदोन्नति प्राप्त गरी तलब–भत्ता, ओहोदा र सरकारी सेवा सुविधाहरू उपभोग गर्दै आएका थिए । मण्डलको यो कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसूर ठहरिने आयोगले जनाएको छ । आयोगले सम्बन्धित दफाहरूअनुसार कैद र जरिबाना सजाय माग गर्दै बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।