विराटनगर । विराटनगरको सरकारी कार्यालयहरूमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
भदौ २४ गते जेन जी आन्दोलनको क्रममा भएको तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा आवास पौडेल, अरुण साह, राजीव यादव, महेश नेपाल र ताजिम अन्सारी रहेको मोरङ प्रहरीका डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए । प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरू प्रमुख राजनीतिक दलमा आबद्ध कार्यकर्ता हुन् । जसमध्ये पौडेल नेपाली काङ्ग्रेस, सोनी नेकपा (एमाले) र अन्सारी तत्कालीन माओवादी निकट रहेको बताइएको छ । अन्सारी नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री अमनलाल मोदीका स्वकीय सचिव पनि हुन् ।
पक्राउ परेका पाँचै जनालाई हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । उनीहरूमाथि ‘आपराधिक उपद्रव’ मुद्दा चलाउने प्रहरीको तयारी छ । यसका लागि सोमबार मोरङ जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । भदौ २४ गते भएको ‘जेन जी आन्दोलन’ का क्रममा सरकारी कार्यालय तोडफोड तथा आगजनी गर्नेहरूको प्रहरीले सूची नै तयार पारेको छ । सोही सूची र अभियान अन्तर्गत प्रहरीले घटनामा संलग्नहरूलाई पक्राउ गर्न सुरु गरेको हो । यसअघि पनि प्रहरी चौकी र गाडीहरूमा आगजनी गरेको आरोपमा प्रहरीले २१ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ ।
यस्तै जेन जी आन्दोलनको क्रममा विभिन्न कारागारबाट भागेका कैदी बन्दीहरूलाई झापाबाट प्रहरीले पक्राउ गरेको छ ।
जेन जी आन्दोलनको क्रममा गत भदौ २४ गते भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । लागूऔषध र जाली नोट कारोबार मुद्दाका आरोपी केन्द्रीय कारागार काठमाडौँबाट फरार रहेकोमा झापाबाट आफन्तकोमा लुकिछिपी बस्दै आएको समयमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा गाउँपालिका–५ पन्थपडाका ३० वर्षीय ऐराजुल हक रहेका छन् । उनी झापा गाउँपालिका–४ भामटोलीस्थित आफन्तकहाँ लुकिछिपी बस्दै आएको अवस्थामा इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको छ भने आवश्यक कारबाहीका लागि सम्बन्धित कारागारमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै झुम्का कारागार सुनसरीबाट कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका झापा शिवसताक्षी नगरपालिका–११ शेर्माटोलका ४५ वर्षीय डम्बरबहादुर मगर भनिने शम्भू मगरलाई पक्राउ गरिएको छ । उनलाई शुक्रबार दिउँसोतिर पक्राउ गरिएको हो । उनी आफ्नै घरमा लुकिछिपी बसिरहेको समयमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई झुम्का कारागार सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
































