धरान । कामबाट निकालेको झोँकमा मधेश प्रदेशको बारा जिल्लास्थित एक पानी उद्योगका व्यवस्थापकको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
बाराको प्रसौनी गाउँपालिका–६ भलुहीचोकस्थित किरण बेभरेज नेपाल प्रा.लि. नामक पानी उद्योगका व्यवस्थापक रामकिशोर सिंहको हत्या गरिएको हो । उनले कामबाट निकालेका दुई कामदारहरूले नै उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले हत्या आरोपमा वीरगञ्जका २१ वर्षीय राजनकुमार राम र ३२ वर्षीय प्रमोद साह तुरहालाई पक्राउ गरेको छ ।
उनीहरूले धारिलो हतियार प्रयोग गरी रामकिशोरको हत्या गरेको प्रहरीले जनाएको छ । रामकिशोरको शव शुक्रबार पौने ८ बजेतिर उद्योगभन्दा २५ मिटर उत्तरको खाल्डोमा फेला परेको थियो । हत्याको कारण सोधखोज गर्दै जाँदा राजनकुमार र प्रमोदको संलग्नता भएको आरोपमा पक्राउ गरिएको अनुसन्धानमा सहभागी इन्स्पेक्टर खेमप्रसाद नेपालले जानकारी दिए । राजनकुमार पानी उद्योगमा सवारी चालकको रूपमा कार्यरत रहेका थिए । उनलाई गतवर्ष गढीमाईको मेलामा गाडीको क्लच जलाएको निहुँमा मृतकसँग विवाद भएको थियो ।
विवादपश्चात् आरोपी राजनकुमारलाई जागिरबाट निकालिएको थियो भने फेरि उनले कात्तिक १ गतेदेखि मङ्सिर १० गतेसम्म काम गरेका थिए । आरोपी राजनकुमारले उद्योगले तोकेको बिक्री मूल्यभन्दा केही रकम बढी लिएर बजारमा पानी बेच्दै आएको कुरा व्यवस्थापक रामकिशोरले थाहा पाएका थिए । उक्त कुरा थाहा पाएपश्चात् उनलाई मङ्सिर १० गते नै जागिरबाट निकालिएको थियो ।
जागिर गुमाएको निहुँमा साथीसँग सल्लाह गरेर उनीहरूले हत्याको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनीहरूले वीरगञ्जको एक होटलमा मदिरा पिएपछि हत्या गर्ने योजना बुनेको प्रहरीले जनाएको छ । योजना बनाएर उनीहरू दुवैले धारिलो हतियार बोकेर हत्या गरेको खुलेको छ ।
हत्यामा छुरा र इँटाको प्रयोग भएको प्रहरीले जनाएको छ । उनीहरू दुवैलाई भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान बढाएको छ । प्रहरीले घटनामा प्रयोग भएको धारिलो छुरा र इँटासमेत बरामद गरेको छ ।
































