भद्रपुर । चालु वर्ष २०८२/०८३ को पहिलो चार महिनामा काँकडभिट्टा नाकाबाट ७५ करोड रुपैयाँबढीका तयारी कपडा आयात भएका छन् ।
साउनदेखि कात्तिक मसान्तसम्म यस नाकाबाट ७५ करोड ७५ लाख ८९ हजार रुपैयाँ मूल्य बराबरका तयारी कपडा नेपाल भित्रिएको मेची भन्सार कार्यालय काँकडभिट्टाको जनाएको छ । यसबाट २७ करोड २२ लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयको तथ्याङ्कले जनाएको छ । कपडा सस्तोदेखि महँगोसम्म सबै उमेरका ग्राहकलाई मिल्दो हुँदा माग र आयात दुवै बढेको व्यवसायीहरूको भनाइ छ । आयातित तयारी कपडाले नेपालका अधिकांश बजारमा पहुँच कायम गरेको आयातकर्ताहरूको भनाइ छ ।
नेपाली व्यवसायीहरूले पनि चिनियाँ तयारी कपडा, चीन, थाइल्याण्ड, हङ्कङबाट आयात भएका तयारी कपडा बढी बिक्री गर्ने गरेका छन् । उपभोक्ताको आँखा सबैभन्दा पहिला चिनियाँ तयारी कपडामा ठोक्किने भएकाले यहाँका अधिकांश कपडा पसलहरूमा चिनियाँ तयारी कपडामै मोलमोलाइ हुने झापा मेचीनगर—६ काँकभिट्टाका कपडा व्यवसायी देवेन्द्र शर्माले बताए ।
कुनै बेला चीन र बैङ्ककका मात्रै कपडाले भरिने पसलमा पछिल्लो समय भारत तथा अन्य मुलुकमा उत्पादित तयारी कपडाले स्थान बनाउँदै लगेको उनले बताए । महिला तथा पुरुषलगायत बालबालिकाहरूले लगाउने चिनियाँ जिन्स पाइन्ट, टिसर्ट, स्वेटर, ज्याकेट तथा मौसम अनुसारका कपडा नेपाली बजारमा सबैभन्दा बढी खपत हुने उनको भनाइ छ । स्वदेशी उत्पादनभन्दा बढी विदेशी कपडा अधिकांश ग्राहकको रोजाइमा पर्ने गरेको दिनेश श्रेष्ठ बताउँछन् । चिनियाँ कपडा सस्तोदेखि महँगोसम्म सबै उमेरका ग्राहकलाई मिल्दो हुँदा माग र आयात दुवै बढेको उनी बताउँछन् ।
निम्न आय भएका ग्राहकदेखि मध्यम् वर्गलाई लक्षित गरेर नन्ब्रान्डेड र ब्रान्डेड दुवै खाले कपडा चीनबाट आयात हुने गरेको उनको भनाइ छ । चिनियाँ तयारी कपडाले नेपालका अधिकांश बजारमा पहुँच कायम गरेको फेन्सी पसल मेचीनगर का सञ्चालक टेकबहादुर लिम्बूले बताए । चिनियाँ लत्ताकपडाको मूल्य, गुणस्तर र डिजाइन निकै लोकप्रिय भएकाले पनि ग्राहकले सहजै यस्ता कपडा रोज्ने गरेको उनले बताए । उनको पसलबाट अधिकांश थाइल्याण्ड, चीन, हङ्कङमा उत्पादित कपडा बिक्री हुने गरेको छ ।
चीनबाट ल्याएको कपडा नेपाली कम्पनीले तयार गरेको भन्दा स्तरीय, सस्तो र रुचाइने डिजाइनका हुनाले पनि तयारी कपडामा चीनकै मुख ताक्नुपर्ने अवस्था रहेको व्यवसायीहरूको भनाइ छ । मौसमअनुसारको सबैखाले तयारी पोसाक विदेशी गार्मेन्टबाटै बजारमा उपलब्ध भएको व्यापारीको भनाइ छ । पछिल्लो समय नेपालको तयारी कपडाको बजारसमेत राम्रो रहेको बताइएको छ । आयातितभन्दा सस्तो मूल्यका कारण पनि बजारमा स्वदेशी कपडाको प्रयोग बढेको व्यवसायीको भनाइ छ । चालु आर्थिक वर्षदेखि कात्तिक मसान्तसम्म तयारी, होजियारी, गार्मेण्ट एससरीज, सुतीको गज तथा जालीलगायत विभिन्न १३ प्रकारका कपडा भन्सारमा आएकोे कार्यालयका सूचना अधिकारी ईश्वर हुमागाईंले जानकारी दिए । तेस्रो देशबाट आयात हुने कपडा मात्र नभई खेलौनाहरू पनि यसमा समावेश हुने गरेको उनको भनाइ छ ।
































