विराटनगर । ऋणको भारी बिसाउन मान्छे कसरी अपराधको दलदलमा फस्न पुग्छ भन्ने उदाहरण मोरङमा देखिएको छ । व्यापारमा लागेको घाटा र पुरानो हिसाब मिलान गर्न नसक्दा टाउकोमा थुप्रिएको ९ लाख रुपैयाँ ऋण तिर्ने हतारोमा एक दम्पतीले राज्यको संवेदनशील निकाय ‘अदालत’ कै नक्कली संरचना खडा गरे ।

अन्ततः ऋण त तिरिएन, उल्टै श्रीमती पुर्पक्षको लागि कारागारमा पुगिन् ।  आमा धरौटी तिर्न नसकेर थुनामा परिन् भने मुख्य योजनाकार श्रीमान् फरारको सूचीमा दरिए । मोरङ जिल्ला अदालत र सप्तरी जिल्ला अदालतमा जागिर खुलेको भन्दै नक्कली सूचना, परीक्षा तालिका र परिचय–पत्र बनाएर दुई दर्जनभन्दा बढी सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेकी कोमलकुमारी साहलाई मोरङ जिल्ला अदालतले बिहीबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सोही प्रकरणमा मुछिएकी उनकी आमा पुनमकुमारी साहलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भए पनि रकम बुझाउन नसक्दा उनी पनि कारागार चलान हुने भएकी छन् ।

चप्पल व्यापारदेखि ठगी धन्दासम्म

प्रहरी अनुसन्धान र अदालतमा कोमलकुमारीले दिएको बयानले यो ठगी प्रकरणको भित्री कथा उजागर गरेको छ । अदालतको इजलासमा कोमलकुमारीले आफ्नो अपराध स्वीकार मात्रै गरेकी छैनन्, कसरी श्रीमान् सञ्जयकुमार यादवको योजनामा आफू मतियार बनेको भन्ने फेहरिस्त सुनाएकी छन् ।

कोमलका अनुसार सञ्जयसँग उनको यो दोस्रो विवाह थियो । विराटनगरमा डेरा लिएर बस्दै आएका उनीहरू चप्पल, जुत्ता र कपडाको व्यापार गर्थे । तर, व्यापार सोचेजस्तो भएन । उल्टै सञ्जयले मार्केटिङको क्रममा रकम हिनामिना गरेको र पुरानो व्यवहार बिग्रिएपछि उनीहरू आर्थिक सङ्कटमा फसे ।

बयानमा कोमलले भनेकी छन्, “श्रीमान् सञ्जयकुमार यादवले पछिल्लो ७–८ महिना अगाडि मसँग कुरा गर्दा आफूलाई ९ लाख रुपैयाँ ऋण लागेको सुनाउनुभयो । उहाँले त्यो ऋण चुक्ता गरेपछि मात्रै बाहिर गएर काम गर्न सजिलो हुने बताउनुभयो ।” यही ९ लाखको ऋणको भारी बिसाउन सञ्जयले अपराधको ‘मास्टरप्लान’ बनाए । योजना थियो– सरकारी कार्यालय (अदालत) मा कर्मचारी माग भएको नक्कली सूचना निकाल्ने र सोझासाझा मानिसबाट थोरै–थोरै रकम असुल्ने ।

ठगी गर्न पनि सञ्जयले मनोवैज्ञानिक खेल खेलेको देखिन्छ । कोमलको बयानअनुसार सञ्जयले भनेका थिए, “धेरै रकम माग्यो भने शङ्का हुन्छ, थोरै–थोरै रकम पठाउन लगाउनु पर्छ । सरकारी कार्यालयले कर्मचारी माग गरेको नक्कली सूचना म आफै बनाउँछु ।” श्रीमान्को यो प्रस्तावमा कोमलले पनि सहमति जनाइन् । कारण उही थियो–टाउकोमाथि झुन्डिएको ऋणको तरबार । त्यसपछि सञ्जयले मोबाइलबाटै मोरङ र सप्तरी जिल्ला अदालतमा कर्मचारी माग भएको नक्कली सूचना टाइप गरे । उनले इन्टरनेटबाट अदालतको लेटरप्याड र छाप (स्ट्याम्प) डाउनलोड गरे ।

“डाउनलोड गरेको छापलाई मोबाइलमै क्रप गरेर फोटो तयार पार्थे र आफैले टाइप गरेको सूचनामा टाँस्ने गर्थे”–कोमलले बयानमा भनेकी छन् ।  यसरी तयार भएको सूचना उनीहरूले आफूले चिनेजानेका र जागिरको खोजीमा रहेका मानिसहरूलाई ह्वाट्सएपमार्फत् पठाउन थाले । यो गिरोहले ठगीलाई यति व्यवस्थित बनाएको थियो कि पीडितहरूले लामो समयसम्म आफू ठगिएको पत्तै पाएनन् । जागिरको प्रलोभनमा परेकाहरूले ‘पैसा कहाँ पठाउने ?’ भनेर सोध्दा उनीहरूले कोमलकी आमा पुनमकुमारी साहको नाममा रहेको सिमकार्डबाट खोलिएको ई–सेवा आईडी प्रयोग गरे ।

सञ्जयले ससुराली (सासू पुनमकुमारी) को नागरिकता प्रयोग गरेर निकालेको सिमकार्डबाट ह्वाट्सएप चलाउँथे र त्यही नम्बरको ई–सेवामा पैसा मगाउँथे । अदालतको कार्यालय सहयोगीका लागि २ हजार ५ सय ७५ रुपैयाँ र नायव सुब्बा (नासु) पदका लागि १० हजार रुपैयाँसम्म उनीहरूले असुले ।

जब पीडितहरूले ‘परीक्षा कहिले हुन्छ ?’, ‘हामी जागिरे भएको प्रमाण खै ?’ भनेर प्रश्न गर्न थाले, तब सञ्जयले अर्को प्रपञ्च रचे । उनले नक्कली परीक्षा तालिका सार्वजनिक गरे । केही दिनपछि फेरि ‘विशेष कारणले परीक्षा स्थगित भएको’ अर्को नक्कली सूचना जारी गरे । अझै विश्वास दिलाउन उनले पीडितहरूकै नाममा अदालतको नक्कली परिचय–पत्रसमेत बनाएर ह्वाट्सएपमा पठाइदिए । “मेरो श्रीमान्ले नै मेरो तथा जाहेरवालाहरूको नाममा मोरङ जिल्ला अदालतको कर्मचारीको नक्कली परिचय–पत्र कार्डहरू तयार गरी, कीर्ते छाप र दस्तखतसमेत गरेर फोटो खिची पठाउनुभएको हो”–अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ ।  ठगी गरेको पैसा सञ्जयले ई–सेवाबाट झिक्दै घरखर्च चलाउने र ऋण तिर्ने काममा लगाए । तर, अपराध सधैँ लुक्दैन । अन्ततः प्रहरीले कोमल र उनकी आमा पुनमलाई पक्राउ ग¥यो । बिहीबार मोरङ अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले कोमलकुमारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । आमा पुनमकुमारीलाई ५० हजार धरौटीमा छाड्ने आदेश भए पनि रकम जम्मा गर्न नसक्दा उनी पनि कारागार जानुपर्ने अवस्था आयो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार पुनमकुमारीमाथि बैङ्किङ कसूरको अर्को मुद्दा पनि विचाराधीन छ ।

९ लाख ऋण तिर्ने सपना देखाएर श्रीमती र सासूलाई अपराधमा मुछ्ने मुख्य योजनाकार सञ्जयकुमार यादव भने अहिले फरार छन् । अदालतले उनीविरुद्ध आज (शुक्रबार) पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ ।