विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ बुधबारेकी १३ वर्षीया अंशु गौतमको क्षतविक्षत अवस्थामा जङ्गलमा शव भेटिएको (आज) आइतबार एक महिना पूरा भएको छ । घरबाट खेल्न जान्छु भनेर निस्किएपछि बेपत्ता भएकी अंशुको शव घरदेखि चार किलोमिटर दक्षिणमा ७ कात्तिकमा भेटिएको थियो । उनी हराएको भने २१ असोजमा हो ।
प्रहरीले अनुसन्धान सुरु गरेको एक महिना पूरा भइसक्दा पनि अझैसम्म कुनै ठोस सुराकसम्म पुग्न सकेको छैन । जसले गर्दा परिवारजनको पीडा चुलिएको छ भने समाजमा त्रास फैलिएको छ । यो घटनामा प्रहरीको अनुसन्धान फितलो देखिएको छ ।
गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी अंशु त्यसपछि सम्पर्कविहीन भइन् । परिवार र आफन्तले उनको व्यापक खोजी गरे पनि कुनै पत्तो लागेन । हराएको १८ दिनपछि कात्तिक ७ गते घरबाट करिब साढे चार किलोमिटर टाढा बेलबारी–चिसाङ साझेदारी वनभित्र घाँस काट्न गएका स्थानीयले दुर्गन्ध आएपछि खोज्दै जाँदा उनको शव क्षतविक्षत अवस्थामा फेला पारेका थिए । शवको प्रकृति हेर्दा टाउको र शरीर अलग भएको, कुहिएको र पहिचान गर्नसमेत मुस्किल अवस्थामा थियो । घटनास्थलमा भेटिएको चप्पल र कपडाका आधारमा परिवारले शव अंशुको नै भएको पहिचान गरे ।
अनुसन्धानमा चुनौती
यो बीभत्स घटनाले लेटाङ मात्र नभई सिङ्गो देशलाई नै स्तब्ध बनाएको छ । घटनाको गम्भीरतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कट्वाल आफै घटनास्थल पुगेर अनुसन्धानको नेतृत्व सम्हालेका थिए ।
प्रहरीले तत्कालै विशेष अनुसन्धान टोली गठन ग¥यो । अनुसन्धानलाई थप प्रभावकारी बनाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), कोशी प्रदेश प्रहरीको विशेष टोली र सङ्घीय प्रहरी एकाइ कार्यालयका विज्ञहरूको समेत सहयोग लिइएको छ । तर, अनुसन्धान सुरु भएको एक महिना पूरा हुँदा पनि प्रहरीले हत्यामा संलग्न अपराधीको पहिचान गर्न सकेको छैन, जसले अनुसन्धान प्रक्रियामाथि नै प्रश्न खडा गरेको छ ।
मोरङ प्रहरीले घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिएर सूक्ष्म ढङ्गले अनुसन्धान गरिरहेको बताएको छ । मोरङ प्रहरी प्रमुख एसपी कट्वालले अनुसन्धान गर्दै आएकोले घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउने विश्वास दिलाएका छन् । तर, शव भेटिएको लामो समयसम्म पनि कुनै ठोस सुराक फेला नपर्नुले अनुसन्धान चुनौतीपूर्ण बनेको स्पष्ट हुन्छ ।
शव भेटिएको स्थान घना जङ्गल हुनु र शव कुहिएर प्रमाणहरू नष्ट हुन थाल्नुले अनुसन्धानलाई थप जटिल बनाएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी बताउँछन् ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार घटनाको प्राविधिक विश्लेषण भइरहेको छ र सबै कोणबाट अनुसन्धान जारी छ । “सबै एङ्गलबाट अनुसन्धान जारी छ । म स्वयम् अहिले फिल्डमा छु” उनले भनिन्, “हामीले सबै कोणबाट सूक्ष्म ढङ्गले अनुसन्धान गरिरहेका छौँ । टेक्निकल अनुसन्धान गरिरहेका छौँ । विज्ञले दिएको रायअनुसार पनि अघि बढेका छौँ ।”
प्रहरीले घटनास्थलबाट सङ्कलित प्रमाणहरूलाई फोरेन्सिक परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको छ । पोष्टमार्टम रिपोर्टले पनि इन्जुरी भएको र घटना दुई हप्ताभित्रमा भएको उल्लेख छ । यद्यपि परिवार र स्थानीयले बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन् ।
शव अत्यधिक कुहिएको अवस्थामा भेटिएकाले बलात्कार जस्तो संवेदनशील विषयमा प्रमाण जुटाउन प्रहरीलाई कठिनाइ भएको छ । डिएनए परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले त्यसपछि मात्रै थप कुरा खुल्ने प्रहरीको भनाइ छ ।
न्यायको पर्खाइमा परिवार
आफ्नी छोरीको बीभत्स हत्यामा संलग्न अपराधी पक्राउ नपरेसम्म शव नबुझ्ने अडानमा गौतम परिवार छ । “जबसम्म प्रहरीले दोषीलाई पक्राउ गर्दैन, हामी छोरीको शव बुझ्दैनौं, दाहसंस्कार पनि गर्दैनौं”–अंशुका बुबा नवीनले भने ।
हाल अंशुको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ । “हाम्री छोरी त फर्किएर आउँदिनन् । तर, जसले यो घटना गराएको हो, उसले सजाय पाउनुपर्छ । हामीलाई न्याय दिनुपर्यो”–अंशुका ठूला बुबा दामोदर गौतमले भने ।
स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत अंशुको निर्मम हत्याले गाउँलेहरू त्रसित र आक्रोशित छन् ।
































