सुनसरी । जिल्ला सुनसरीका विभिन्न स्थानहरूमा प्रहरीले विशेष सूचनाका आधारमा गरेको चेकजाँच क्रममा ठूलो परिमाणमा पटका बरामद गरेको छ।
जिल्लाभर पटका ओसार–पसार र कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी तथा त्यस मातहतका प्रहरी टोलीहरू खटिइ चेकजाँच गरिएको थियो। सो क्रममा लुकाइ–छिपाइ राखिएको अवस्थामा अन्दाजी मूल्य दुई लाख साठी हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
बरामद गरिएका सबै सामानलाई कानुनी प्रक्रिया अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई आवश्यक थप अनुसन्धान तथा कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
दशैं–तिहारको अवसरमा यस्ता अवैध आतसबाजीजन्य वस्तुहरूको ओसार–पसार र बिक्रीविरुद्ध प्रहरीले निगरानी कडा पारेको छ। साथै, यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।