भद्रपुर । करिब दश वर्षअघिको पुरानो रिसइबीका कारण दाजु–भाइले धारिलो हतियार प्रहार गरी झापाको बिर्तामोड–७ मा एकजनाको हत्या गरेका छन् ।

मङ्गलबार राति बिर्तामोड–७ स्थित खोलापारि भन्ने ठाउँमा स्थानीय करिब ३५ वर्षीय फुर्वा तामाङलाई सुतेको ठाउँमा सोही ठाउँ बस्ने छिमेकी प्रेमकुमार राई र उनका दाजु रामकुमार राईले शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

बसिला र खुकुरी प्रहारबाट तामाङको हत्या भएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । घटनामा प्रयोग भएको धारिलो हतियार खुकुरी र बसिला प्रहरीले बरामदसमेत गरेको छ । करिब दश वर्षअघिको रिसइबीका कारण सुतेकै ठाउँमा हत्या गरेको आरोपीले बयान दिएको डिएसपी खड्काले जानकारी दिए ।  

हत्या गर्ने व्यक्तिलाई स्थानीय गाउँलेले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको प्रहरीले जनाएको छ । समयमै प्रहरी नआउँदा हत्यामा संलग्न प्रेमकुमार राईले मदिरा सेवन गरी अन्य स्थानीयलाई समेत हत्या गर्छु भनी आतङ्कित बनाएको स्थानीयले जनाएका छन् ।