नेपालको राजनीति जीवन परिवर्तनको निर्णायक मोडमा पुगेको छ । जेन जी आन्दोलनको उभार, त्यसको अविरल दबाव र सडकबाट आएको तीव्र असन्तुष्टिले अन्ततः प्रधानमन्त्रीलाई राजीनामा गर्न बाध्य बनाएको छ । एकैपटक जनताको आवाजलाई सुन्ने ढिलो प्रयासभन्दा, आन्दोलनकारीहरुसँग संवेदनशील संवाद गर्न नसक्ने प्रवृत्तिले सरकारलाई पतनतर्फ धकेलेको छ । 

तर, प्रधानमन्त्रीको राजीनामाले मात्र मुलुकका समस्या हल भएको छैन । उल्टै आन्दोलनले पाएको चरम् उभारले राजनीतिक नेतृत्वमाथि गहिरो अविश्वास झन् स्पष्ट भएको छ । देउबा दम्पतीमाथि आक्रमण, गगन थापाजस्ता नेतामाथि कुटपिट, देशैभरिजस्तो नेताहरुको घरमा भएको आगजनीलगायतका घटनाले विगतमा प्रमुख दलका नेताहरुले खेलेको गलत भूमिका, राष्ट्रिय स्वाभिमान, स्वाधीनता र सार्वभौमिक अखण्डतामाथिको खेलवाड अनि अनेकौं काण्डहरुको फेहरिस्तले पुरिएका नेताहरुको कर्तुतको परिणाम हो । 

आजको आन्दोलनले के सन्देश दिएको छ भने पुरानो राजनीतिक संरचना अब जनताका आकाङ्क्षासँग मेल खान सकेको छैन । जेन जी पुस्ता पारदर्शिता, जवाफदेही नेतृत्व र अवसरको समान पहुँच चाहन्छ । पुराना दलहरुको सत्ताकेन्द्रित राजनीति अब अस्वीकार्य भइसकेको छ । त्यसैले प्रधानमन्त्रीको राजीनामापछि आउने अन्तरिम व्यवस्थाले तीनवटा आधारभूत कदम चाल्न जरूरी छ । अस्थिरताबाट मुलुकलाई जोगाउन सबैको सहमतिबाट गैरपक्षपाती, विश्वासिलो नेतृत्व स्थापित हुनुपर्छ । केवल दलगत हितका आधारमा नेतृत्व गठन भएमा आन्दोलन झन् चर्किनेछ ।  आन्दोलनकारी युवासँग प्रत्यक्ष संवाद खोल्नुपर्छ । उनीहरुलाई नीति निर्माणमा सहभागी गराउन सक्ने संरचना बनाइनुपर्छ । संसद् र सरकारभित्र युवापुस्ताको प्रतिनिधित्व अब अपरिहार्य छ । शिक्षा, रोजगारी, स्वास्थ्य, सुशासन र पारदर्शितामा तुरून्त सुधार गर्ने कदम चाल्नुपर्छ । कागजमा मात्र नभई व्यवहारमै देखिने परिणाम ल्याउनसके मात्र आम नेपाली जनतामा विश्वासको वातावरण तयार हुनेछ । राजनीतिक दलका नेतामाथि हिंसा बढ्नु केवल नेताको असफलता मात्र होइन, राज्यव्यवस्थाको कमजोरीको प्रतिफल हो । युवाहरुको मागलाई सम्बोधन हुने गरी समाधानको बाटो पहिल्याउनु पर्छ । 

प्रधानमन्त्रीको राजीनामा आन्दोलनको एउटा उपलब्धि भए पनि भविष्य अझै चुनौतीपूर्ण छ । समाधान केवल सत्ताको अदल–बदल होइन, संरचनात्मक सुधार हो । जेन जीको आन्दोलनलाई अवसरका रुपमा प्रयोग गर्दै नयाँ सामाजिक सम्झौता गर्न सकियो भने नेपाल स्थायित्वतर्फ उन्मुख हुनेछ । आन्दोलनभित्र घुसपैठ भई सामाजिक सद्भाव खल्बलिने खतरालाई ध्यान दिँदै युवा आन्दोलनकारीहरुले सचेततापूर्वक पाइला चाल्नुपर्छ ।