धरान । धरान जेसीजले सधैँ झैँ यस वर्ष पनि जेसीज सप्ताहअन्तर्गत विविध कार्यक्रम गरी मनाइरहेको छ । 

यही जेठ २२ गतेबाट सुरु भएको जेसीज सप्ताह भोलि (बुधबार) समापन हुँदै छ । धरान जेसीजका अध्यक्ष विदुर महतका अनुसार पहिलो दिन धरान–१७ मा निःशुल्क दन्तशिविर आयोजना गरिएको थियो । स्थानीय एक सय ४१ जनाको दाँत जाँच गरिएको थियो ।

यस्तै दोस्रो दिन धरान–११ स्थित किड्जी मन्टेश्वरीमा हेल्दीबेबी प्रतियोगिता  गरिएको थियो । प्रतियोगितामा ४० प्रतिस्पर्धी रहेका थिए । सामुदायिक तथा निजीका चार वर्षदेखि ६ वर्षसम्मका विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा चिरायु यादव प्रथम हुँदा अभिनव पोखरेल दोस्रो र इक्सा लिम्बू तेस्रो भएकी थिइन् । कार्यक्रममा निर्णायकहरू बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डेन्टल विभागका डा. महालक्ष्मी साह, छालारोग विशेषज्ञ एलिजा पौडेल, पोषणविद् विपीन कार्की रहेका थिए । 

यस्तै धरान–१२ स्थित प्राइम भिजन कलेज परिसरमा मिक्स अचार तथा तोफु बनाउने तालिम सञ्चालन गरिएको छ । तालिममा ४२ जना सहभागी भएका थिए । तालिको सहजीकरण खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी सुब्बा विमला तामाङ, धरान बहुमुखी क्याम्पसकी अध्यापक साङ्गेन रुमा राईले गरेका थिए ।

आइतबार धरान–१ स्थित रेडक्रस भवनमा सम्पन्न गरिएको छ । सामुदायिक र निजीका गरी ६७ जना सहभागी भएका थिए । कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरू सहभागी रहेका थिए । प्रतियोगितामा युरेका आवासीय मा.वि.की चेसुङ लिम्बू प्रथम भएकी छन् भने सुनाखरी एकेडेमीकी जेसिका राई दोस्रो र होलीगार्डेनकी सिम्रन लिम्बू तेस्रो भएकी छन् । 

प्रतियोगितामा निर्णायकहरूमा वरिष्ठ चित्रकार प्रनोद दत्त र हीरालाल उदास रहेका थिए । यस्तै सोमबार वित्तीय साक्षरता तालिम आयोजना गरिएको छ । महेन्द्र बहुमुखी क्याम्पसमा गरिएको तालिममा १ सय १४ जना विद्यार्थीहरू सहभागी रहेका थिए । कार्यक्रममा मितेरी बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनन्त चापागाईं र पूर्व कार्यकारी अधिकृत तुलसी वस्तीसहित एनआइसी एसिया बैङ्कका क्लस्टर हेड भूपेन्द्र पौडेलले सहजीकरण गरे । 

आज (मङ्गलबार) धरान–१६ स्थित बीबी फुटसलमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरिने भएको छ । धरान उपमहानगरका कर्मचारी र जेसीजका पदाधिकारीबीच फुटसल आयोजना गरिने अध्यक्ष महतले जानकारी दिए । भोलि (बुधबार) धुलिखेल समाजको हलमा जेसीज दिवस सम्मान तथा जेसीज सप्ताहको समापन गरिने मूल संयोजक तोर्णबहादुर कार्कीले जानकारी दिए ।

jcccj