बेङ्गलुरु (एजेन्सी) रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले आईपीएल २०२५ को फाइनलमा पञ्जाब किङ्सलाई हराएर पहिलोपटक उपाधि जितेपछि बेङ्गलुरुमा आयोजित विजय जुलुसमा भागदौड हुँदा कम्तीमा १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो घटना चिन्नास्वामी स्टेडियमनजिकै भएको हो, जहाँ हजारौं समर्थकहरू आरसीबीको ऐतिहासिक जितको उत्सव मनाउन भेला भएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार जुलुसमा सहभागी हुन ठूलो सङ्ख्यामा भीड जम्मा भएको थियो । स्टेडियमबाहिर प्रवेश गर्न खोज्ने समर्थकहरूको भीडले स्थिति नियन्त्रणबाहिर गएको थियो ।

प्रहरी स्रोतका अनुसार अचानक भएको भागदौडमा केही व्यक्ति लडेर च्यापिए, जसका कारण १० जनाको ज्यान गएको पुष्टि भएको छ । अन्य धेरै घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

विजय जुलुसको आयोजना गरेको फ्रेन्चाइजीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई समवेदना प्रकट गरेको छ । 

स्थानीय प्रशासनले भीड व्यवस्थापनमा कडाइ गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ ।