अहिले बजारमा आँप आउन थालेको छ । समयअनुसारको फल खानु भन्ने हाम्रो बूढापाकाको उखानै छ । यसअनुसार आँप खाने याम सुरू भएको मान्नुपर्छ । तर यति भन्ने बित्तिकै आँप खान थालिनहाल्नुस् । किनकि यो आँप पाक्ने सिर्जनको पूर्वाद्र्ध मात्रै हो । अहिले आँप वयस्क अवस्थामा पुगिसकेको छैन । अझै केही समयपछि मात्रै वयस्क अर्थात् खान मिल्ने हुनेछ । सामान्यतः यतिबेला आँपको अचार हाल्ने समय हो । पाक्ने समय होइन । तर पनि बजारमा पाकेका आँप बिक्री भइरहेका छन् त ? भन्ने जिज्ञासा पनि तपाईंहरुलाई लाग्दो हो । हो बजारमा पाकेका आँपहरु आएको सत्य हो तर यी आँपहरु समयअनुसार पाकेर आएका होइन । यसमा विभिन्न खालका विषादीहरु हालिएका हुन्छन् । ती विषादीका कारण आँप पाकेको हो । नत्र तपाईं स्वयम्ले परीक्षण गर्न सक्नुहुन्छ । बजारबाट आँप लिएर जानुस् र केही दिन राखेर हेर्नुस् त्यो आँप केही समयपछि कालो हुँदै चाउरिँदै जान्छ । सामान्यतः समय पुगेको आँप त्यसरी चाउरी पर्दैन । वयस्क अर्थात् खान मिल्ने समय भएको आँप त्यसो नभई केही समयपछि कुहिन थाल्छ । त्यसमा किरा लाग्न थाल्छ । तर यतिबेलाका आँपमा किरा लाग्दैन । कारण विषादी हालेको आँपमा किरा हुँदैन । किनकि आँपमा किरा प्रवेश गर्न सक्ने अवस्थै हुँदैन । 

आँप पकाउनका लागि व्यवसायीहरुले कार्वाइड नामक औषधि हाल्ने गरेका छन् । आखिर कार्वाइड के हो ? यसले कसरी काम गर्छ । यो रासायनिक विषादी हो कि अग्र्यानिक ? आम मानिसमा एक प्रकारको भ्रमहरु रहेका छन् । यो एक प्रकारले भन्ने हो भने यो रसायन विज्ञानमा कार्बन र धातु मिलेर बनेको एक यौगिक हो । धातु विज्ञानमा भन्ने हो भने धातुको टुक्रामा कार्बाइड कोटिङ्स उत्पादन गर्ने प्रक्रिया हो । अझ सामान्य भाषामा बुझ्दा फलाम जोड्नका लागि प्रयोग गरिने तत्व हो । जसले ताप उत्पन्न गराउँछ । ग्रिल तथा फलाम जोड्नका लागि वेल्डिङ गर्दा प्रयोग गरिने एक प्रकारको सामग्री हो । यसकारण यो रासायनिक प्रक्रियाद्वारा नै निर्माण गरिएको हुन्छ । यो सामान्यतः खान मिल्दैन । यसले गर्दा हाल बजारमा पकाइएका आँपहरु यी र यस्तै प्रकृतिका अन्य विषादी हालेर पकाइएको हुन्छ । यतिबेलाको आँप भनेको विष सेवन गर्नु जस्तै हो । यो बेला आएका आँपहरु स्वस्थ्यकर हुँदैनन् । झट्ट हेर्दा राम्रो देखिए पनि खाउँ खाउँ लाग्ने भए पनि भरसक आँप नखान हुन सल्लाह दिन्छौँ । यतिबेलाको आँपले सिधै स्वास्थ्यलाई नकारात्मक असर पु¥याउने मात्रै हैन, वान्ता हुने, ज्वरो आउने, उल्टी हुनेलगायतका समस्या भई कालान्तरमा क्यान्सर जस्तो प्राणघातक रोगहरु पनि लाग्न सक्छ । यसकारण पनि कोहीकसैले पनि यतिबेलाको आँप खाएर आफ्नो जीवन बर्बाद नगर्न हुनका लागि आग्रह गर्दछौँ । 

फलफूलहरु खाँदा सिजनअनुसारको खानु उपयुक्त हुन्छ । चिकित्सकहरु तथा त्यससँग जानकारहरुले सिजनअनुसारको फलफूल खानका लागि सुझाउँछन् । कारण के हो भन्दा सिजनअनुसारको फलफूलले स्वास्थ्यलाई नकारात्मक असर पु¥याउँदैन । अर्कोतिर हाम्रो जस्तो मुलुकमा चुस्त अनुगमनहरु हुँदैनन् । फलफूलहरुको विषादीको मापनहरु भएर आएका हुँदैनन् । खान योग्य छ कि छैन भन्ने विषय अन्यौलता धेरै छ । विषादीको मापन भइहाले पनि त्यसलाई लुकाउने चलन व्याप्त छ । यसले गर्दा पनि उपभोक्ता, ग्राहकहरु नै सचेत हुन आवश्यक छ । व्यापारीहरुले बढी मुनाफा लिनका लागि समय अगावै फलफूलहरु बजारमा ल्याइदिने समस्या छ । यसलाई निगरानी गर्ने, अनुगमन गर्ने, नियमन गर्ने निकायहरु लगभग मौन जस्तै छन् । उनीहरुको दायित्व पनि उपभोक्ता आफैले निभाउनुपर्ने अवस्था छ । कारबाही गर्ने निकायहरु पनि देखेको नदेखै गर्ने प्रचलन व्याप्त छ । हामी यस्तो सङ्क्रमणकालीन अवस्थामा छौँ । जहाँ उपभोक्ता आफै सचेत र जागरूक हुन जरूरी छ ।