धरान । नेपाली काङ्ग्रेस निकट नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बू) सङ्घले कोशी प्रदेशमा चलिरहेको दुईवटा आन्दोलन ‘नो कोशी र नो केबलकार’ लाई छलफल, वार्ता र संवादमार्फत् निष्कर्षमा पु¥याउन पहल गर्ने भएको छ । 

सङ्घको प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा गरिएको मङ्गलबारको पत्रकार सम्मेलनमा कोशी प्रदेशमा चलिरहेको दुईवटा आन्दोलनलाई निष्कर्षमा पु¥याउन भूमिका खेल्ने जनाएको छ । हालसम्म लिम्बुवानका ९ जिल्ला र काठमाडौँ उपत्यका शाखा गरी १० जिल्ला शाखा गठन गरिएको जनाएको छ । नेपाली काङ्ग्रेसको छाताभित्र वैधानिकरूपमा २०७९ साउन २ गते सङ्घले आधिकारिकता प्राप्त गरेको हो । त्यसयता सङ्घ क्रियाशील रहेको छ । 

यसै क्रममा सङ्घको प्रथम राष्ट्रिय महाधिवेशन धरानमा गर्ने निर्णय भएको केन्द्रीय अध्यक्ष उत्तमसिंह थाम्देनले पत्रकार सम्मेलनमा बताए । यही जेठ २३ र २४ गते महाधिवेशन गर्ने निर्णय भए बमोजिम लिम्बुवानमा चलिरहेको दुईवटा आन्दोलनका विषयमा पनि चर्चा परिचर्चा गरिने र निष्कर्षमा पु¥याउन भूमिका खेल्ने जनाइएको छ ।

आन्दोलनलाई निष्कर्षमा पुर्याउनका लागि सङ्घले अग्रणी भूमिका निभाउने अध्यक्ष थाम्देनले बताए । यस्तै विधान बमोजिम अन्य जिल्ला शाखाहरू पनि गठन गर्ने तयारी गरिएको छ । यस्तै शाखा समिति मातहत रहने गरी महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका हुँदै वडा समितिसम्म गठन गर्ने महाधिवेशनले निर्णय गर्ने उनले जनाए । माउ पार्टीलाई आगामी २०८४ को निर्वाचनमा सहयोग पुग्ने गरी काम गर्ने जनाइएको छ ।