विराटनगर । कोशी प्रदेशमा चालु आर्थिक वर्षको अन्तिममा एक दर्जन खेलकुदको कार्यक्रम गर्ने भएको छ ।

मनसुन सक्रिय हुने समयमा हतार–हतारमा बजेट खर्च गर्न कोशी खेलकुद विकास बोर्डले आर्थिक वर्षको अन्त्यतिरमा एक दर्जन खेलकुदका कार्यक्रम सुरु गर्न लागेको हो । प्रदेशका विभिन्न स्थानमा असारको सुरुवातदेखि खेलकुदका प्रतियोगिताहरू आयोजना गर्दैछ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने सबै प्रतियोगिताहरू असार दोस्रो साताभित्रमा सम्पन्न गर्ने तयारी छ । खेलकुदका विभिन्न १२ वटा प्रतियोगितामध्ये केही असार पहिलो साताबाटै सुरु हुँदैछन् । केही प्रतियोगिता असार ८ गतेपछि आयोजनाको तयारी छ । सबै प्रतियोगिता असार १५ गतेभित्र सक्ने गरी बोर्डले तयारी अगाडि बढाएको छ ।

१२ वटा प्रतियोगिता सम्पन्न गर्नको लागि खेलकुद विकास बोर्डले एक करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको लागि २० लाख रुपैयाँ बजेट छुट्याएको छ । उक्त प्रतियोगिता असार १५ गतेसम्म मोरङमा सञ्चालन हुनेछ । त्यसैगरी प्रदेशस्तरीय पौडी प्रतियोगिताको लागि १० लाख रुपैयाँ रहेको छ । सो प्रतियोगिता मोरङ र सुनसरीमा हुनेछ । यस्तै प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको लागि २० लाख विनियोजन गरिएको छ । यो प्रतियोगिता खोटाङमा असार ८ गतेबाट सुरु हुने कार्यतालिका रहेको छ ।

यसैगरी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता तेह्रथुममा असार ३ देखि ७ गतेसम्म हुँदैछ । यो प्रतियोगिताको लागि २० लाख रुपैयाँ बजेट छुट्याएको छ । प्रदेशस्तरीय कबड्डी प्रतियोगिता असार ७ देखि १० गतेसम्म मोरङमा सञ्चालन हुनेछ । सो प्रतियोगिता सम्पन्न गर्न १० लाख बजेट विनियोजन गरिएको छ । महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षणको लागि १० लाख रुपैयाँ बजेट राखेको छ । यो कार्यक्रम झापा, मोरङ र सुनसरीको ३ वटा विद्यालयमा असार १५ गतेसम्म गर्ने भनेको छ ।

यस्तै प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता सञ्चालन गर्नको लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसैगरी प्रदेशस्तरीय कुरास प्रतियिोगिताको लागि १० लाख, प्रदेशस्तरीय भारोत्तोलनको लागि ८ लाख र प्रशिक्षक विकासका लागि प्रशिक्षण तालिमको लागि २० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

प्रशिक्षकलाई प्रशिक्षण तालिम नेपाल तेक्वान्दो सङ्घ मोरङ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गर्दैछ । बोर्डले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरेर कार्यतालिका सार्वजनिक गर्दै प्रतियोगिता हुने स्थानको टुङ्गो लागिसकेको जानकारी दिएको छ । केही समयदेखि रोकिएको खेलकुदको कार्यक्रम एकै पटक गर्दा धेरै देखिएको प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव कृष्ण बस्नेत (पर्शुराम) ले बताए ।

‘धेरै अगाडिदेखि कार्यक्रम रोकिएको थियो । त्यसैले गर्दा अहिले एकै पटक धेरै कार्यक्रम देखिएको हो’ उनले भने, ‘प्रदेशका १४ वटै जिल्लालाई समेटेर प्रतियोगिताहरू आयोजना हुँदैछ । कोशी प्रदेशमा खेलकुदका प्रतियोगिताहरू केही समयदेखि रोकिएका थिए । ती सबै प्रतियोगिता असार दोस्रो साताभित्रमा सक्ने गरी तयारी थालिएको छ । समयमै सम्पन्न गर्न नसकेका कारण अब ‘फास्ट ट्रयाक’ बाट आयोजना गर्नुपर्ने अवस्था आएको छ । हतार–हतार नगरे खेलकुदका लागि छुट्याइएको बजेट ‘फ्रिज’ भएर जान्छ ।’

विराट गोल्डकप फुटबल ट्रष्टका पूर्वअध्यक्ष सन्तोष बानियाँले खेलकुदका कार्यक्रमहरू राम्रो भए पनि एकै पटक मनसुन सक्रिय हुने समयमा गर्दा खेलकुदका कार्यक्रम प्रभावित हुनसक्ने बताए । ‘खेलाडीको लागि यस्तो कार्यक्रम हुनु राम्रो हो । तर, एकै पटक धेरै कार्यक्रम त्यो पनि झरी पर्ने समय असारमा गर्दा खेलकुद कार्यक्रम प्रभावित हुनसक्छ’ उनले भने, ‘खेलकुदका कार्यक्रम असोज वा कात्तिकमा गर्दा उपुयक्त हुन्छ ।’