भद्रपुर । झापा र इलामका वनजङ्गलमा काठको अवैध तस्करी बढेको तथ्याङ्कले पुष्टि गरेको छ । चालु आर्थिक वर्षको दश महिनामा दुई जिल्लाका विभिन्न स्थानबाट छ सय ९१ क्युविक फिट काठ बरामद भएको तथ्याङ्कले देखाएको छ ।

काठ तस्करीमा प्रहरीको सक्रियता केही बढेपछि धमाधम काठ कारोबारी फेला पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले दिएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को दश महिनामा जिल्लाका अलग–अलग स्थानबाट ६ सय ९१ क्युविक फिट काठ बरामद भएको छ । यसबापत ४० लाख ४५ हजार ५ सय रुपैयाँ राजस्व जम्मा भएको कार्यालयले जनाएको छ । त्यसमा प्रयोग भएका ८ वटा सवारी साधन र त्यसमा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरेको जिल्लाका प्रहरी प्रवक्ता एवम् डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीले सबैभन्दा बढी असोज महिनामा दुई सय २२ क्यू.फिट काठ, त्यसमा प्रयोग भएको दुईवटा सवारी साधन र त्यसमा संलग्न दुई जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय झापामा बुझाएको थियो । त्यसबापत १३ लाख ४९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । भदौमा ३४ क्युविक फिट काठ बरामद हुँदा त्यसबापत १० लाख रुपैयाँ राजस्व सङ्कलनका साथै एक जना पुरुष र एउटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको थियो ।

साउनमा २ सय १९ क्युविक फिट काठ, २ वटा सवारी साधन र ४ जना मानिस पक्राउ परेका थिए । बरामद काठबाट ७ लाख ७६ हजार ८० रुपैयाँ राजस्व जम्मा भएको थियो । मङ्सिरमा ९४ क्युविक फिट काठ दुई वटा सवारी साधन र दुई जना मानिस पक्राउ हुँदा दुई लाख २४ हजार रुपैयाँ राजस्व जम्मा भएको छ ।

पुसमा १५ क्युविक फिट काठ बरामद गर्दा तीन लाख ५० हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने चैतमा ३४ क्युविक फिट काठ नियन्त्रणमा लिँदा १ लाख २७ हजार तथा वैशाख महिनामा ७३ क्युविक फिट काठ एउटा सवारी साधन बरामद हुँदा दुई लाख १९ हजार चार सय २० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । प्रहरीले उपलब्ध गराएको दुई आर्थिक वर्षको तथ्याङ्कमा काठ तस्करी बढेर गएको पाइएको छ ।

आर्थिक वर्ष ०७८/७९ मा १२ सय ६८ क्युविक फिट काठ बरामद गरेको छ भने १३ वटा सवारी साधनसहित १२ जनालाई पक्राउ गरेको छ । त्यसबापत ४० लाख ५७ हजार पाँच सय ३६ रुपैयाँ राजस्व उठाएको छ । त्यसैगरी आर्थिक वर्ष ०७९/८० मा २४ सय ७२ क्युविक फिट काठ, १७ मानिस र २९ वटा सवारी साधन नियन्त्रणमा लिएको उल्लेख छ । प्रहरीले सो वर्ष ९७ लाख ९४ हजार ८ सय १० रुपैयाँ राजस्व उठाएको उल्लेख छ ।

प्रहरीले बरामद काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय झापामा पठाएको छ । जिल्लामा बेला–बेलामा तस्करी र अवैध ओसार–पसारका घटनाहरू सार्वजनिक हुँदै आएका छन् । इलाम र झापा खुल्ला सिमाना भएको क्षेत्र भएकोले काठ तस्करी हुँदै आएको जनाएको छ । केहीवर्ष अघिमात्र सशस्त्र प्रहरीले झापाको मेचीनगरबाट ठूलो परिमाणमा साल जातको गोलिया काठ बरामद गरेको थियो ।

मेचीनगर नगरपालिका–१ स्थित कृष्णथुम्की मन्दिरनजिकैबाट काठ बरामद गरेको थियो । ट्याक्टरमा लोड गरी लैजाँदै गरेको साल जातको गोलिया काठ सशस्त्र प्रहरीलाई देख्नासाथ ट्याक्टर छाडेर भागेका थिए । त्यसपछि कृष्णथुम्की मन्दिर आसपास थप खोजतलास गर्दा अन्य जातको दुई सय क्युफिट काठ र करिब एक ट्रक साल तथा अन्य जातको लाथ्रा फेला परेको थियो । जेठमा इलामका चुरे क्षेत्रमा रहेका वनबाट चोरी तस्करी गरी माईखोलामा बगाएर ल्याउँदै गरेको काठ झापाको दोमुखाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यसअघि गत वैशाख १५ गते माई खोलामा त्यसरी नै बगाएर ल्याउँदै गरेको चोरीको काठ प्रहरीले बरामद गरेको थियो । ट्युबमाथि काठ राखेर माई खोलाको पानीमा बगाएर इलामबाट काठ चोरी गरी झापातर्फ ल्याउने क्रममा बरामद गरिएको प्रहरीको भनाइ छ । केही समययता सक्रिय देखिएको अवैध काठ चोरी तस्करी कात्तिक, माघ र फागुनमा शून्य छ । खासगरी भित्री मधेस र चुरे क्षेत्रका सामुदायिक र सरकारी वनक्षेत्रबाट दिनहुँ अवैध काठ चोरी निकासी हुने गरेको बताइएको छ ।

राति र बिहानको समयमा काठ तस्करी हुँदै गरेको गोप्य सूचना पाएपछि प्रहरी टोली खटाएर काठ पक्राउ गरिएको कार्यालयको भनाइ छ । इलामका वनजङ्गलबाट अवैधरूपमा काटिने रुख चिरान गरेर वा गोलिया आकारमै काठ झापातिर तस्करी हुने गरेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।

झापासँग सिमाना जोडिएको इलामका सीमावर्ती वनक्षेत्रबाट तस्करी गरी ल्याइएको अवैध काठ नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालयका कर्मचारीले बरामद गर्ने गरेका छन् । अवैध काठ चोरी मुद्दामा वन ऐन २०४९ अनुसार कानूनी कारबाही गरिँदै आएको डिभिजन वन कार्यालयले जनाएको छ ।

काठ बिक्री आरोपमा अध्यक्षसहित आठ पक्राउ
रुख काटेर बिक्री गरेको आरोपमा सामुदायिक वनका अध्यक्षसहित आठ जना पक्राउ परेका छन् ।

झापाको दक्षिणी क्षेत्र कचनकवल गाउँपालिका–७ को पाथीभरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित आठ जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । उनीहरूको नाम भने गोप्य राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

पक्राउ परेकामाथि  काठ बिक्रीसँगै वनमा अनियमितता गरेको आरोप छ । वनमा केही साखुलगायत अन्य जातका रुख काटिएका ठुटाहरूको आधारमा र सामुदायिक वनका काठ पनि हराएकोले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ । आरोपितमाथि ०८० चैत ४ मा सामुदायिक वनमा अनियमित तरिकाले वन पैदावर काटी हानिनोक्सानी गरेको तथा कोष हिनामिना गरेको आरोपमा मुद्दा दर्ता गरिएको सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् ।

मुद्दा दर्तापछि ०८१ जेठ १३ गते (आइतबार) ७ जना र १८ गते (शुक्रबार) थप एक जनालाई पक्राउ गरिएको पुरीले बताइन् । उनीहरू सबैलाई घरबाट नै पक्राउ गरिएको उनको भनाइ छ । आरोपितमाथि अनुसन्धान सुरु गरिएको मुद्दाको अनुसन्धान अधिकृतसमेत रहेकी पुरीले बताइन् । अहिले तीनवटा मात्र ठुटा भेटिएको र हिसाबमा पनि फरक देखिएपछि कति परिमाणको काठ बिक्री भएको हो भन्नेबारे थप अनुसन्धान गरेर मात्र के–कस्तो कारबाही अगाडि बढ्ने टुङ्गोमा पुगिने उनले जनाइन् । मुद्दा पेस भइसकेपछि मात्र नाम सार्वजनिक गरिने उनको भनाइ छ ।

तेह्रथुमबाट १२ सय गोलिया बरामद

डिभिजन वन कार्यालय तेह्रथुमले एक हजार दुई सय गोलिया बरामद गरेको छ । डिभिजन वन कार्यालय तेह्रथुमका अनुसार उत्तिस र मौवा जातका गोलिया बरामद गरिएको हो ।

सोमबार डिभिजन वन कार्यालयले गोप्य सूचनाको आधारमा गोलिया बरामद गरेको जनाएको छ । डिभिजिन वन कार्यालय तेह्रथुमका प्रमुख उदिमप्रसाद राईका अनुसार आठराई गाउँपालिका–२ खाम्लालुङबाट गोलिया बरामद गरेको हो । प्रमुख राईले भने, ‘राष्ट्रिय वनबाट गोलिया चोरी भइरहेको छ भन्ने सूचना आयो । हामीले बरामद गरेर लिएका छौँ ।’ उनका अनुसार खाम्लालुङको कच्ची सडकबाट काठ बरामद गरेको हो ।

उनका अनुसार गोलिया करिब ३ महिनाअघि काटेकोजस्तो देखिएको छ । गोलिया ४ फिट लम्बाइ र विभिन्न गोलाइका छन् । प्रमुख राईका अनुसार करिब १५ सय क्युविक फिट काठ रहेको छ । हालको मूल्य प्रतिक्युविक फिट तीन सय रुपैयाँ रहेको छ । अहिले अनुसन्धान भइरहेको छ । उनले भने, ‘कसले काटेको हो । कहाँबाट काटिएको हो । निजी वनको हो कि ? राष्ट्रिय वनको हो ? भन्नेबारे अनुसन्धान भइरहेको छ । सम्बन्धित पक्षलाई सोधपुछ गर्ने काम भइरहेको छ ।’ उनका अनुसार उत्तिसलाई कृषिउपजको रूपमा लिइन्छ । उनले भने, ‘अनुसन्धानपश्चात् दोषीलाई वन ऐन २०४९ अनुसार कारबाही हुन्छ ।’