धनकुटा । धनकुटा नगरपालिका–६ अमलेटारमा मङ्गलबार बिहान १६ वर्षीय एक बालकमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट उनी सख्त घाइते भएका छन् । धनकुटाको औद्योगिकग्राम नजिकै घर भएका बालक सुमन भुजेलमाथि बिहान करिब ११ बजेतिर खुकुरी प्रहार भएको हो ।

धनकुटाका एक युवाले उनीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । उनको गर्धनमा गम्भीर चोट लागेको छ । उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटामा ल्याइएको भए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनले बताए ।

भुजेलमाथि खकुरी प्रहार गर्ने युवालाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । पक्राउ परेको युवाको नाम सार्वजनिक गर्न नमिल्ने प्रहरीले जनाएको छ । घटनाको कारण पनि हालसम्म खुल्न सकेको छैन । प्रहरीले हाल अनुसन्धान भइरहेकाले केही दिनभित्रै सार्वजनिक गर्ने जनाएको छ ।