इनरुवा । सशस्त्र प्रहरीले सुनसरीको वसन्तपुरबाट स्रोत नखुलेको मोटो रकमसहित पक्राउ गरेका व्यक्ति यसअघि भारतीय नक्कली नोटको कारोबारमा समेत पक्राउ परेको खुल्न आएको छ ।

शनिबार राति हरिनगर गाउँपालिका–५ बाट एक करोड एक लाख नेपाली रुपैयाँसहित पक्राउ परेका इशा अन्सारी २०८० असोज १४ गते विराटनगरबाट भारतीय नक्कली नोटसहित पक्राउ परेको खुलेको छ । अन्सारी पक्राउ बारेको समाचार नेपाल प्रहरीको पोर्टलमा अझै पनि हेर्न सकिन्छ ।

त्यसबखत भाटभटेनीमा सरसामान किनेर रकम भुक्तानीको क्रममा भारतीय नोट दिएका उनी नक्कली नोट कारोबारमा संलग्न पाइएको भन्दै प्रहरी फन्दामा परेका थिए । उनलाई कारसहित प्रहरीले नियन्त्रणमा लिएको थियो । स्रोतका अनुसार बा.१६ च ७६१३ नम्बरको कारसहित पक्राउ परेका अन्सारी केही दिन प्रहरी हिरासतमा बसेर छुटेका थिए । तत्कालीन समयमा सानो परिमाणका केही थान भारतीय नक्कली रुपैयाँसहित पक्राउ परेका अन्सारी यतिबेला भने मोटो नेपाली रकम १ करोड १ लाखसहित समातिएका छन् ।

सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार नियमित चेकजाँचको क्रममा समातिएका अन्सारी कार चालकका रूपमा थिए । कारमा उनी एक्लै थिए । शङ्का लागी चेकजाँच गर्दा झोलामा राखिएको अवस्थामा मोटो रकम भेटिएको थियो । अन्सारीले चलाएको कारको नम्बर बा.१६ च ७६१३ नम्बरको रहेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वार्टर सुनसरीले दिएको जानकारीअनुसार ३७ वर्षीय स्थानीय इशा अन्सारी हरिनगर–५ दुर्गा मन्दिरछेउको चेक पोइन्टमा स्रोत नखुलेको रकमसहित शङ्कास्पद अवस्थामा फेला परेका हुन् ।

गणको हेड क्वार्टरका अनुसार बीओपी वसन्तपुरको टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको कारलाई सशस्त्र प्रहरी हवल्दार किरणकुमार राई कमाण्डको टोलीले शङ्का लागी चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो ।

स्रोतका अनुसार ठूलो रकमसहित पक्राउ परेका अन्सारीले उक्त रकमको स्रोत खुलाउन सकेनन् । सोधपुछ गर्दा शङ्का लागेपछि उनलाई नियन्त्रणमा लिई कानूनी कारबाहीको प्रक्रियामा लगिएको थियो ।

अन्सारी पक्राउ परेलगत्तै घटना मिलाउन दबावसमेत आएको स्रोतको भनाइ छ । सुरुवातमा अन्सारीले ५५ लाख रकम रहेको बताएका थिए । सशस्त्रले शङ्का लागी रकम गनेको थियो । सो क्रममा १ करोड १ लाख रहेको खुलेको थियो ।

गणपति समेनन्द बज्राचार्यका अनुसार स्रोत नखुलेको रकमसहित पक्राउ परेका व्यक्तिलाई कारसहित राजश्व कार्यालयको टोलीको जिम्मा लगाइएको छ । बाँकी छानबिन र थप अनुसन्धानपछि अघि बढ्ने उनले बताए ।

पक्राउ परेका व्यक्ति घुस्कीका व्यापारी रहेको बुझिन आएको छ । उनी निकट जानकारहरूका अनुसार अन्सारी करिब एक दशकअघि विदेश बसेर नेपाल फर्किएका व्यक्ति हुन । नेपाल फर्किएर उृनले घुस्कीमा पपुलर ब्राण्ड राखेर स्कुल, रेमिट्यान्स कारोबार र हार्डवेयर पसलजस्ता व्यापार व्यवसाय सञ्चालनमा ल्याएका थिए । बोर्डर छेउको उनको व्यवसाय निकै फस्टाएको उनी निकटको भनाइ छ ।

अन्सारीको पक्राउलाई उनका शुभचिन्तक, आफन्त र निकटकाले व्यापारी व्यक्तिलाई अनाहकमा पक्राउ गरिएको बताउँदै रकमको स्रोत सबै खुल्ने दाबी गर्दै आएका छन् । उता प्रहरी स्रोत भने पक्राउ परेका व्यक्ति छुटाउन दबाव सिर्जना गराउन खोज्नु र मोटो रकम बरामद हुँदा निजले स्रोत खुलाउन नसक्नुले पूर्ण रूपमा शङ्कास्पद रहेको बताउँछ । एकसाथ ठूलो रकम बरामद हुनु र स्रोत खुल्न नसक्नुलाई हुण्डी कारोबारको रकम हुनसक्ने प्रहरीले जनाएको छ ।