धरान/नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय काठमाडौंले धरानमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि प्रचारप्रसार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

आईतबार धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाहलमा भएको अन्तरक्रियामा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था माथि हुने गरेका विभिन्न आक्रमण र कुटपिट जस्ता गतिविधिले स्वास्थक्षेत्रमा समेत नकारात्मक असर पारेको सरोकारवालाले बताएका छन्। राज्यले स्वास्थ्यकर्मीहरुको सुरक्षा गर्न नसक्दा पछिल्लो समय डाक्टरहरुले जोखिम बेहोर्नु परेको उनीहरुको भनाई थियो।

चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले चिकित्सक माथि हुने आक्रमणका गतिविधि रोक्नुपर्ने बताए । उनले डाक्टरले गलत कार्य गरेको भए कानुनी निकायमार्फत कारबाही हुने बताउँदै अहिले नेपालमा ६ सय डाक्टर यस्ता घटनाबाट पिडित बनेको बताए। राज्यले स्वास्थ्यकर्मीमाथी हुने आक्रमण रोक्न नसक्दा अधिकांश चिकित्सकहरु विदेसिन बाध्य भएको बताए। उनले भने, ‘कुनैपनि चिकित्सकले उपचारमा लापरबाही गरेर विरामीलाई असर पु¥याउने कार्य गरेमा मेडिसिन काउन्सिलले कार्वाही गर्छ।’

अन्तरक्रियामा बोल्दै ईलाका प्रशासन कार्यालय धरानका प्रमुख अनोजकुमार घिमिरेले स्वास्थ्य मानव जीवनमा अति आवश्यक रहेकाले कानुन माथि गएर कसैले पनि गलत काम गर्छ भने चुप लागेर बस्न नहुने बताए। उनले अरुक्षेत्रमा भन्दा बढी स्वास्थ्य क्षेत्रमा आक्रमण हुने हुदा राज्यले कानुन अनुसारको सजाय गराउनु पर्ने बताए।