धरान/संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्र राईले धरानको खानेपानी समस्यालाई सरकारले दीर्घकालीन रूपमा समाधान गर्न लागिपरेको बताएका छन्।

शुक्रबार धरान आएका मन्त्री राईले धरानवासीहरूको मागलाई सकेसम्म चाँडै समाधान गर्ने प्रतिबद्धता जनाए। कोशीबाट पानी ल्याउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) गर्ने तयारीमा सरकार लागेको मन्त्री राईले बताए।

खानेपानीको मुद्दा लिएर निर्वाचित भएका धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले स्थानीय सरकारसँग भनेजति बजेट नहुँदा संघीय तथा प्रदेश सरकारको आश गर्नुपरेको बताए।

मन्त्री राईले धरानको खानेपानीको समस्या समाधान गरी छाड्ने दाबी गरे। कोशीबाट पानी ल्याउन संघीय सरकारले पाँच अर्ब ७२ करोड ५६ लाख रुपैयाँ विनियोजन भई ठेक्का प्रक्रियामा रहेको उनले बताए।

उनले वातावरण प्रभाव मूल्याङ्कन (ईआइए) काम भने बाँकी रहेको बताए। मन्त्री राईले नगर प्रमुख राईलाई उनकै कार्यकक्षमा भेटेर आगामी आर्थिक वर्ष २०८१/८२ भित्र खानेपानीको डिपिआर सम्पन्न हुने बताए।नगर प्रमुख राईले धरानको खानेपानी समस्यामा गम्भीर बन्न आग्रह गरे।हिउँदमा खानेपानीको समस्या हुने भएकाले चाँडै समाधान गरिदिन मन्त्री राईलाई नगर प्रमुख राईले जानकारी गराए।

धरानको खानेपानी समस्या समाधान गर्ने कोशी प्रदेश सरकारले निरन्तर प्रयास गरिरहेको कोशी प्रदेशका सांसद रमेश बस्नेतले बताए।खानेपानी समस्याका विषयमा केन्द्रित भएर गरिएको छलफलमा धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलले धरानलाई दैनिक चार लाख लिटर पानीको आवश्यकता रहेको बताए। तर सुख्खा मौसममा दुई लाख लिटरमात्र उत्पादन भएकाले पानीको अभाव हुने गरेको मन्त्री राईलाई जानकारी गराए।