धनकुटा । धनकुटाको भुजेल सेवा समाजले उँभौली पर्वको अवसरमा बुधबार धनकुटा नगरपालिका–६ मा रहेको भुजेली कुवामा धुमधामका साथ भुजेली पूजा एवम् शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

०६२/६३ को परिवर्तनपछि धनकुटामा भुजेल जातिले आफ्नो मौलिक भुजेली पूजा गर्दै आएका छन् । भुजेली कुवामा आफ्नो इष्टदेवलाई पुकार्दै पुजारामे (पुजारी) बाट पूजा आराधना गरेका हुन् । धनकुटा–६ आत्माराको भुजेली कुवा एक ऐतिहासिक कुवा भएको भुजेल सेवा समाजका १ नम्बर प्रदेश समितिका सचिव जेपी भुजेलले बताए । उक्त स्थानमा मणिकुण्ड, जलकुण्ड, दूधकुण्ड र भुजेलीपार्कसमेत रहेको छ । धनकुटा जिल्लाका विभिन्न पालिकाहरूमा छरिएर रहेका भुजेल समुदायले आफ्नो जातिको मौलिक संस्कृतिको जगेर्ना गर्न सङ्गठित हुँदै आएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घमा आबद्ध १५ एकल जातिमध्ये भुजेल पनि एक पर्दछ ।

प्रकृतिपूजक जाति मानिने भुजेल धनकुटामा तीन सय १८ घरधुरी रहेको छ । जनसङ्ख्या भने एक हजार पाँच सय ९० रहेको छ । धनकुटा नगरक्षेत्रमा ६४ घरधुरीका २ सय ५६ भुजेलले जातिको जनसङ्ख्या रहेको छ । सचिवले भने, ‘भुजेल सेवा समाजको अगुवाइमा धनकुटाको सातै पालिकामा बसोबास गर्ने भुजेल समुदाय सङ्गठित भएर आफ्नो जातिको पहिचान स्थापित गर्न अघि बढिरहेका छौँ ।’

उनका अनुसार वि.सं. २०३९/०४० सालभन्दा पहिले भुजेल जातिले आफ्नो थर ‘घर्ती’ लेख्ने चलन थियो । वि.सं. ५५३ साल अर्थात् पाँचौं÷छैटौं शताब्दीतिर कर्णाली प्रदेशको हिमाली भञ्ज्याङहरू पार गर्दै तिब्बततिरबाट भुजेलहरू प्रवेश गरी ढोरपाटन क्षेत्रमा बसोबास गर्न थालेको इतिहास छ । सुरुवाती समयमा एक हुल बाग्लुङ र अर्को हुल रुकुमको सिस्ने हिमालबाट उत्पत्ति भएको नदी किनारमा बसोबास गरेकोले उनीहरूलाई घर्ती भनी सम्बोधन गरेको इतिहास पाइने उनले बताए ।

त्यस्तै बाग्लुङको भुजिखोला वरिपरि बस्नेहरू कालान्तरमा भुजेल भएको बताइन्छ । सन् २०१२ मा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. दानबहादुर रेग्मीकृत ‘सम सोसिओलिङ्ग्वीस्टिक एस्पेक्ट्स इन भुजेल’ पुस्तकमा उक्त कुरा लेखिएको छ । भुजेल सेवा समाज धनकुटाका सचिव दीपक भुजेलका अनुसार केही वर्षअघि जिल्लाको छथरजोरपाटी–४ ताङ्खुवामा भुजेल जातिले सङ्गठित भएर बृहत् भुजेली पूजा गर्न थालेको बताए । हरेक वर्ष उँधौली र उँभौली पर्वमा भुजेली पूजा गर्दै आएको उनले बताए । उनले पूर्णिमादेखि पञ्चमीसम्म भुजेल जातिले तिथि मिलाएर पूजा आराधना गर्ने गरेको बताए ।

धरानबाट भुजेल जातिको पुजारामे (पुजारी) बालकुमार भुजेललाई ल्याएर धनकुटा–६ को भुजेली कुवामा पूजा गरी भुजेली पर्व मनाएको जनाएका छन् । पुजारी भुजेलले भुजेल जाति प्रकृतिपूजक भएकाले प्रकृतिलाई पुकार गरिने बताए । उँभौली पूजामा अन्नबाली राम्रो होस्, असिना नपरोस्, बाढी पहिरो नलागोस्, परिवारमा शान्ति छाओस् भनेर कामना गरिने पुजारी बालकुमारले बताए । भुजेल सेवा समाज धनकुटाका अध्यक्ष मणि भुजेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

भुजेल सेवा समाज धनकुटामा उद्धव
भुजेल सेवा समाज धनकुटा नगरको बुधबार सम्पन्न चौथो नगर अधिवेशनले उद्धव भुजेललाई अध्यक्षमा चयन गरेको छ । समाजको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः हिक्मत भुजेल, सुनिल भुजेल, सुनिता भुजेल र विष्णुमाया भुजेल चयन भए ।

यस्तै सदस्यहरुमा सुमिल भुजेल, पर्वत भुजेल, सविना भुजेल, विनोद भुजेल रहेका छन् । यस्तै धनकुटा–१ हिले र वडा नं. २ भीरगाउँबाट एक–एक सदस्य मनोनित गरिने नवनिर्वाचित अध्यक्ष उद्धव भुजेलले बताए ।