विराटनगर । मोरङको रङ्गेली नगरपालिका–४ का वडाध्यक्ष अवधेश मण्डलसहित १३ जनाले सरकारी कागजपत्र कीर्ते गरेर व्यक्तिको सम्पत्ति एकलौटीरूपमा हडप्ने प्रयास गरेको घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन पीडित परिवारले माग राखेका छन् ।

रङ्गेली–७ का वीरेन्द्रकुमार साहले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दा पनि वडाध्यक्ष मण्डलसहित १२ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु नगर्दा न्याय पाउनेमा शङ्का भएको बताए । सो प्रकरणमा मोरङ प्रहरीमा जाहेरी दर्ता भएपछि गत जेठ ९ गते मोरङ अदालतबाट वडाध्यक्ष मण्डलसहित १३ जनाविरुद्ध सरकारी कागजपत्र कीर्ते गरेको मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । जसमध्ये प्रहरीले राजकिशोर साहलाई मात्रै पक्राउ गरेको छ ।

वडाध्यक्षसहित १३ जना मिलेर रङ्गेली–४ आमतोलामा रहेको करिब तीन करोड पर्ने नक्सा सिट नं. १७८०७१८ को किता नं. १५६ र १५७ रहेको २०५ र ३३८.६३ वर्गमिटरको जग्गा र उद्योग कब्जा गर्ने प्रयास गरेको आरोप लाग्दै आएको छ । स्थानीय ७९ वर्षीय रामप्रसाद साहको नामको जग्गा र उद्योग जेठी श्रीमतीलाई बाइपास गरेर कान्छी श्रीमतीको नाममा ल्याउन रङ्गेली–४ का वडाध्यक्ष मण्डलसहितले पदीय जिम्मेवारी विपरीत आर्थिक चलखेल गरी काम गरेको पीडित पक्षको आरोप छ ।

वडाध्यक्षको अवैध कामलाई रङ्गेली नगरपालिकाका उपप्रमुख भुमा पराजुली (निरौला) का श्रीमान् गणेश निरौला, मालपोत कार्यालय विराटनगरका तामेली फाँटका प्रमुख तुलसीराम चौधरी, मालपोत कार्यालय रङ्गेलीका मुद्दा फाँटका प्रमुख अर्जुन घिमिरे, लेखापढी व्यवसायी लोकनाथ निरौलासहित १३ जनाले साथ दिएको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ । साहको गतवर्ष मृत्यु भएको थियो । घर र उद्योगबाहेक करिब तीन करोड रुपैयाँ मूल्य पर्ने जग्गा कब्जा गर्ने प्रयास भएको पीडित पक्षले जनाएको छ । जेठी श्रीमती कलावती देवी र कान्छी कौशिलादेवी साह तथा जेठीतर्फका छोरा वीरेन्द्रकुमार साह र कान्छीतर्फका छोरा राजकिशोरको नाममा सम्पत्ति भाग लाग्नुपर्नेमा कौशिलालाई मात्रै सबै सम्पत्ति दिलाएको आरोप छ ।

वडादेखि नगरपालिका र मालपोतको मिलेमतोमा जग्गा कौशीलादेवी साहको नाममा नामसारी भइसकेको छ । आफूहरूलाई पत्तो नदिई कान्छीआमाको नाममा बाबुको सम्पत्ति नामसारी गरिएको वीरेन्द्रले जानकारी दिए । जग्गा नामसारी भएको १० महिनापछि मात्र आफूले थाहा पाएको उनले बताए । त्यसपछि मालपोतमा गएर बुझ्दा सरकारी कागजपत्र कीर्ते गरेको थाहा पाएपछि यही जेठ १ गते प्रहरीमा उजुरी दिएका थिए ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सो प्रकरणमा संलग्न वडाध्यक्षसहित १३ जना नै सुरुमा फरार थिए । हाल भने शक्तिको प्रयोग गरेर गाउँघरमा डुलिरहेको पीडित साहले बताए । रङ्गेली नगरपालिका प्रमुख दिलिप बगडियाको संरक्षणमा आरोपित वडाध्यक्ष मण्डल पक्राउ नपरेको उनको भनाइ छ । ‘अहिले गाउँघरमै खुलेआम हिँडडुल गर्दै आएका छन् । अहिले पनि वडामा काम कारबाही गर्दै आएका छन्’ उनले भने, ‘प्रहरीले पक्राउ गर्ने कुनै चासो देखाएको छैन ।’

आरोपित खुलेआम हिँडेका कारण न्याय नपाउने अनुभूति भएको उनले बताए । ‘अहिले पनि खुलेआम सार्वजनिक ठाउँमा वडाध्यक्ष हिँडडुल गरिरहेका छन् । प्रहरीको अहिलेका काम कारबाही हेर्दा कता–कता पीडितको पक्षमा नदेखिएको महसुस भएको छ’ उनले भने, ‘पक्राउ पुर्जीमा उल्लेखित दुई व्यक्ति वडाध्यक्ष र रङ्गेली नगरपालिका उपप्रमुखका श्रीमान् कोशी प्रदेशको वर्तमान सरकारमा भएकोले गर्दा अहिलेको सरकारले प्रहरीलाई दबाव दिएको हो कि भन्ने हाम्रो आशङ्का रहेको छ ।’

पाँच महिना १२ दिनअगाडि सर्जमिन प्रमाणित भएको कागजलाई रोकेर वडाध्यक्ष मण्डलले सिफारिस दिने काम गरेका छन् । ‘आखिरमा ५ महिना १२ दिन रोकेर पछि सिफारिस दिनुपर्ने कारण के हो ?’ उनले भने, ‘चाँडोभन्दा चाँडो आरोपितहरूलाई पक्राउ गरी छानबिन गरी कडाभन्दा कडा कारबाहीको लागि हामी जोडदार माग गर्दछौँ ।’