कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनअपेक्षाअनुसार शासन सञ्चालन गर्नु र प्रदेशको औचित्य स्थापना गर्नु जिम्मेवारी रहेको बताएका छन् ।

गणतन्त्र दिवस- २०८१ को शुभकामना वक्तव्य जारी गर्दै मुख्यमन्त्री कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि आजको दिनमा थप सुदृढ राष्ट्रिय एकता जरुरी भएको उल्लेख गरेका छन्  । 

'संविधान अनुरुप राज्य संयन्त्रमा भएको परिवर्तन सबै जनताले अनुभूत गर्न सक्नेगरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुनेछ । गणतन्त्रसँगै स्थापित भएको संघीयताको प्रभावकारी कार्यान्वयन गर्दै जनअपेक्षा अनुरुप शासन सञ्चालन गर्नु र प्रदेशको औचित्य स्थापित गर्नु आजको हाम्रो जिम्मेवारी हो ।' जारी वक्तव्यमा उल्लेख छ ।

मुख्यमन्त्री कार्कीले नेपाल आमाका हजारौं छोराछोरीको बलिदानको बलमा प्राप्त गणतन्त्रलाई संस्थागत गर्दै संविधानको कार्यान्वयन गर्ने आजको  प्रमुख कर्तव्य रहेको उल्लेख गरेका छन् । उनले संविधानको कार्यान्वयनबाट मात्र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई कार्यान्वयन गर्न सकिने बताएका छन्  । 

उनले यस अवसरमा संविधानको मर्म र भावना अनुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा प्रेरणा मिलोस् भन्दै नेपालीहरुमा गणतन्त्र दिवसको  बधाई तथा शुभकामना दिएका छन् । 

'जनताको जित भएको विशेष दिन गणतन्त्र दिवसका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाली जनताका प्रतिनिधिमार्फत् संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल हो ।' मुख्यमन्त्री कार्कीले वक्तव्यमा भनेका छन्, 'यो महत्वपूर्ण दिनमा गणतन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षहरुमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइते तथा अपाङ्ग हुनुभएका र बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।'