विराटनगर । मोरङको रङ्गेली नगरपालिका–४ आमतोलामा रहेको करिब ३ करोड पर्ने जग्गा र उद्योग एकलौटी बनाउन स्थानीय जनप्रतिनिधि र मालपोत कार्यालयका सरकारी कर्मचारीसहित १३ जना संलग्न रहेको पाइएको छ ।

स्थानीय ७९ वर्षीय रामप्रसाद साहको नाममा रहेको जग्गा र उनको जेठी श्रीमतीलाई बाइपास गरेर कान्छी श्रीमतीको नाममा ल्याउन रङ्गेली–४ का वडाध्यक्ष अवधेश मण्डल आर्थिक चलखेलको लोभमा परेपछि पदीय जिम्मेवारीलाई भुलेर लागिपरेको पाइएको हो ।

वडाध्यक्षको अवैध कामलाई साथ दिन रङ्गेली नगरपालिकाका उपप्रमुख झुमा पराजुली (निरौला) का श्रीमान् गणेश निरौला, मालपोत कार्यालय विराटनगरका तामेली फाँटका प्रमुख तुलसीराम चौधरी, मालपोत कार्यालय रङ्गेलीका मुद्दा फाँटका प्रमुख अर्जुन घिमिरे, लेखापढी व्यवसायी लोकनाथ निरौलासहित १३ जना लागिपरेका छन् । 

रामप्रसाद साहको नाममा साविक गाविस रङ्गेली वडा नं. ८ को नक्सा सिट नं. १७८०७१८ को किता नं.  १५६ र १५७ रहेको २०५ र ३३८.६३ वर्गमिटरको जग्गा रहेको छ । सोही जग्गामा बजरङ चिउरा उद्योग र घर छ । अहिले यो जग्गा प्रतिधुर १० लाखदेखि १२ लाखसम्ममा खरिद बिक्री भइरहेको छ । घर र उद्योगबाहेक जग्गाको भाउ मात्रै करिब तीन करोड पर्ने स्थानीय बताउँछन् ।

रामप्रसाद साहको ८ वैशाख २०७९ मा मृत्यु भयो । उनका दुई जना श्रीमती छन् । जेठी श्रीमती कलावतीदेवी र कान्छी कौशिलादेवी साह छन् । जेठीपट्टिका वीरेन्द्रकुमार साह र कान्छीपट्टिका राजकिशोर साह दुई छोरा छन् । उनीहरू छुट्टिएर बसेका छन् ।  

जग्गा एकलौटी बनाउन यसरी भयो खेल
रामप्रसाद साहको निधन भएपछि कान्छीपट्टिका छोरा राजकिशोरले बाबुको मृत्यु भएको १३ औं दिनमा मृृत्यु दर्ता गराए । बाबुको मृत्यु भएको १३ दिनमा एकलौटी रूपमा आफूले मात्रै अंश लिने उद्देश्यले रङ्गेली ४ नं. वडा कार्यालयबाट २१ वैशाख २०७९ मा मृत्यु दर्ता बनाए ।

त्यसपछि जेठीपट्टिका छोरा वीरेन्द्रलाई २६ भदौ २०६५ मा ५० हजार रुपैयाँ अंश दिएको देखाएर कान्छीपट्टिका छोरा राजकिशोरले बाबुको नाममा रहेको जग्गा आफ््नो नाममा ल्याउन सर्जमिन मुचुल्का बनाए । ५ फागुन २०७९ मा एकल अंशियार देखाएर राजकिशोरले सर्जमिन मुचुल्का उठाए । उक्त सर्जमिन मुचुल्कामा उपप्रमुखका श्रीमान् गणेश निरौला, विनोदकुमार मण्डल, अनिल मण्डल, दिनेश मण्डल, अजयप्रसाद साह, धीरजकुमार मण्डल  र प्रमानन्द मण्डलले हस्ताक्षर गरिदिए ।

त्यसपछि १७ साउन २०८० मा राजकिशोरको मन्जुरीमा उनी आमा कौशिलादेवी साहको नाममा मृत्यु भएको बाबु रामप्रसादको जग्गा र घर नामसारी गरिदिन मालपोत कार्यालय रङ्गेलीलाई वडाध्यक्ष अवधेशकुमार मण्डलले सिफारिस बनाइदिए । वडाले दिएको उक्त सिफारिसको आधारमा मालपोत कार्यालय रङ्गेलीले १८ साउन २०८० मा कौशिलादेवी साहको नाममा जग्गा नामसारी भएको देखिन्छ । वडाध्यक्ष मण्डलले कौशिलादेवीको नाममा जग्गा सिफारिस गरिदिन राजकिशोरले रकम लिएको स्रोतको दाबी छ । जेठा छोरालाई पत्तो नदिइकन एकलौटीरूपमा कान्छीआमाको नाममा बाबुको सम्पत्ति ल्याउनको लागि राजकिशोरले लाखौं रुपैयाँ खर्चेको स्रोतको भनाइ छ ।

वडाध्यक्षसहित १३ विरुद्ध पक्राउ पुर्जी जारी
बाबुको जग्गा एकलौटीरूपमा राजकिशोरले आफ्नो आमा कौशिलादेवीको नाममा ल्याएको १० महिनापछि मात्रै जेठीपट्टिका छोरा वीरेन्द्रकुमार साहले थाहा पाए । उक्त जग्गा बैङ्कमा राखेको थाहा पाएपछि मात्रै वीरेन्द्रले आफ्नो बाबुको नाममा रहेको जग्गा अंशबण्डा नगरी कान्छीआमापट्टिका छोरा राजकिशोरले जनप्रतिनिधि र बिचौलिया प्रयोग गरी एकलौटी आफ्नो नाममा ल्याएको गत वैशाखमा मात्र थाहा पाएका हुन् ।

एकलौटीरूपमा बाबुको अंश कान्छीपट्टिका छोराले मात्र लगेको पत्तो पाएपछि वीरेन्द्रले मालपोतमा गएर हेरेपछि सरकारी कागजपत्र कीर्ते गरेको पत्तो पाएका हुन् । त्यसपछि उनले वडाध्यक्ष अवधेशकुमार मण्डलसहित १३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा सरकारी कागजपत्र र छाप कीर्ते मुद्दामा जाहेरी १ जेठमा दर्ता भएको छ । मोरङ प्रहरीमा जाहेरी दर्ता भएपछि ९ जेठमा वडाध्यक्षसहित १३ जनाविरुद्ध मोरङ अदालतबाट पक्राउ अनुमति प्रहरीले पाएको छ । वडाध्यक्षसहित १३ जनाविरुद्ध सरकारी कागजपत्र कीर्ते गरेको मुद्दामा उजुरी दर्ता भएपछि अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । ‘अहिले घटनाको अनुसन्धान सुरु भएको छ’ उनले भने, ‘थप अनुसन्धानपछि अरू विषय खुल्नेछ । अहिले अनुसन्धानको क्रममा छौँ ।’

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्षसहित १३ जना गाउँबाट अहिले फरार छन् । उनीहरूको खोजी कार्यमा प्रहरी परिचालन भएको बताइएको छ । ‘जाहेरी दर्ता भएर पक्राउ पुर्जी पनि अदालतबाट आएपछि घटनाको अनुसन्धानमा प्रहरी लागि परेको छ’ उनले भने, ‘जाहेरीमा नाम भएका व्यक्तिहरूको खोजी कार्य भइरहेको छ ।’