विजयपुर । धरान–१४ स्थित दुई धारेदेखि दक्षिणतर्फ रहेको नरसिंह भगवान् मन्दिरको जग्गा व्यक्तिका नाममा ल्याउने प्रक्रिया रोक्न धरान–६ को वडा कार्यालयले मोलपोत कार्यालयलाई पत्राचार गरेको छ ।

त्यस्तै धरानका नगर प्रमुख हर्कराज राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयलाई छानबिनका लागि पत्राचार गरेका छन् । धरानका आचार्य परिवारले मन्दिरलाई दान दिएको धरान–६ पानबारीमा ७ कठ्ठा १० धुर जग्गा छ । उक्त जग्गा व्यक्तिको नाममा ल्याउन वडा कार्यालयले मालपोत कार्यालयलाई सिफारिस गरेको थियो । फिल्डबुकमा कित्ता नं. १२५ को जग्गाधनी कैफियतको महलमा जग्गाधनी ‘लालबहादुर’ मात्रै लेखिएको छ । तर, यसलाई प्रमाणित गर्न धरान वडा नं. ६ ले ‘लालबहादुर थापा मगर’ र ‘लालबहादुर’ एकै व्यक्ति भएको भनी प्रमाणितसमेत गरेर व्यक्तिको नाममा ल्याउन सिफारिस गरेको थियो ।

धरान–६ का वडाध्यक्ष भूपेन्द्र भट्टराईले मालपोत कार्यालय धरानलाई पत्राचार गरेका हुन् । वडाध्यक्ष भट्टराईले नामसारी छुटका लागि पठाइएको सिफारिसका आधारमा कारबाही प्रक्रिया अघि नबढाउन बुधबार पत्राचार गरेको हो । वडा कार्यालयले २०८० चैत १५ मा छुट जग्गा दर्ता गर्न लालबहादुर थापा मगरलाई सिफारिस गरेको थियो । यस्तै २०८० चैत १६ गते दुई नाम, थर प्रमाणित गरेको सिफारिस गरेको थियो । २०८० चैत १५ गते ६ नं. वडा कार्यालयको रोहवरमा सर्जमिन मुचुल्कासमेत गराएको थियो ।

मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गराउन चलखेलसम्बन्धी समाचार ब्लाष्टमा प्रकाशित भएपश्चात् वडा कार्यालयले गरेका तीनवटै सिफारिस कार्यान्वयन नगराउन मालपोत कार्यालयलाई पत्राचार गरेको हो । वडा कार्यालयको पत्रमा भनिएको छ– ‘हाल सञ्चार माध्यमहरूमा सो छुट जग्गा सिफारिस पत्रमा उल्लेख गरिएको व्यक्ति जग्गाधनी नभई अन्य सार्वजनिक सङ्घ÷संस्था (मन्दिर) जग्गाधनी भएको भनी प्रचारमा आएकाले सो सम्बन्धमा वडा कार्यालयले थप सत्य–तथ्य बुझ्नुपर्ने भएकाले माथि उल्लेखित सिफारिस पत्रहरू अर्को सिफारिस पत्र प्राप्त नभएसम्मको लागि कारबाही प्रक्रिया अगाडि नबढाई (स्थगित) गरिदिनहुन अनुरोध छ ।’ सोबारे धरान उपमहानगरपालिका र इलाका प्रशासन कार्यालय धरानलाई पनि बोधार्थ दिइएको छ । वडाध्यक्ष भट्टराईले छलफलमा लालबहादुरले सञ्चारमाध्यममा बोलेको कुरा सत्य भएको बताएका छन् ।

छानबिन गर्न अख्तियारलाई पत्र
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले नरसिंह भगवान् मन्दिरको जग्गा प्रकरणबारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेका छन् ।

बुधबार नगर प्रमुख राईले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गाल र इटहरीस्थित क्षेत्रीय कार्यालयलाई छुट्टाछुट्टै पत्राचार गरेका हुन् । नेपाल सरकार गृह मन्त्रालयले वैशाख ७ गते अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा फिर्ता गराउने भनी पत्राचार भएको पनि उल्लेख गरेका छन् ।

नगर प्रमुख राईले गम्भीरतापूर्वक सत्य–तथ्य छानबिन गरी दोषी ठहरे कानूनी कारबाहीको लागि प्रक्रिया अघि बढाउन अख्तियारलाई अनुरोध गरेका हुन् । नापीको फिल्डबुकमा ‘लालबहादुर’ मात्र उल्लेख भएको साविक बाँझगरा–३ कित्ता नम्बर १२५ को ७ कठ्ठा ११ धुर जग्गा वर्षौंदेखि धरान–१४ स्थित नरसिंह मन्दिरले भक्तबहादुर मगरलाई कमाउन दिएको छ । मगरले उक्त जग्गा कमाए बापत वार्षिक ५ हजार रूपैयाँ मन्दिरका पुजारीलाई दिने गरेका छन् ।

सर्जमिन झुटो भएको स्वीकारोक्ति
तत्कालीन बाँझगरा गाविसका प्रधानपञ्च पदम कार्कीले झुटो सर्जमिन गराएको स्वीकार गरेका छन् । उनी जग्गाको सर्जमिन मुचुल्कामा साक्षी बसेका छन् । उनले जोतभोगका आधारमा हेर्ने हो भने झुटो सर्जमिन भएको स्वीकार गरेका हुन् । तर, उनले कागजात हेर्नुपर्ने बताए ।

वडा कार्यालयले गरेको सर्जमिनमा लालबहादुरले जोतखन गरेको उल्लेख गरिएको छ । उक्त जग्गा हाल भने भक्तबहादुुर मगरले जोतभोग गरिरहेका छन् । बिहीबार तत्कालीन प्रधानपञ्च कार्कीले भने, ‘सर्जमिन गरेको हुँ । व्यावहारिक रुपमा हेर्दा मन्दिर जग्गाधनी हो । मन्दिरले कुत बुझेको साँचो हो । तर, मन्दिरसँग यथेष्ट प्रमाण नभएको थाहा पाएपछि मालपोत र नापी कार्यालयमा प्रक्रिया सुरू गरेको हो ।’

उनी २०३९ सालदेखि २०४३ सम्म उप प्रधानपञ्च र २०३९ देखि ०४६ सम्म प्रधानपञ्च भएका थिए । उनी मन्दिरको जग्गाछेउकै छिमेकीसमेत हुन् । उनले लालबहादुरसँग प्रमाण भएकाले, छुटमा निवेदन दर्ता गराउन आफैले लगाएको बताएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘रसिद नै सबै प्रमाण होइन । कुत बुझाएको रसिद नै प्रमाण हुने भए नापी र मालपोतको के काम ? मन्दिरसँग यथेष्ट डकुमेन्ट छैन, प्रमाण विना मन्दिरले हाम्रो जग्गा भन्न मिल्ने, हामीले जोतभोग गरेको छ भन्न नमिल्ने त ?’

उनले दुनियाँमा जोतभोग नै नगरेको मान्छेले कीर्ते कागज बनाई २० वर्षपछि जोतभोग गरेको भनी सर्जमिन गरेर खाएको थुप्रै प्रमाण रहेको बताउँदै भने, ‘हामीले गर्न नमिल्ने त्यस्तो नि हुन्छ ?’ हाल लालबहादुरले जोतभोग गरेका छैनन्, तर नापीमा जोतभोग लालबहादुरले गरेको हो भनी सर्जमिन गरेको साँचो भएको उनको भनाइ छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टोमप्रसाद आचार्यसँग भेट्दा कुत बुझाएको प्रमाण मात्र भएको उनले बताए । उनले ६ महिनाअगाडि छुट फारम खुल्ला भएपछि मालपोत हाकिमसँग भेट गरेको बताउँदै भने, ‘मालपोत हाकिमले प्रक्रिया पूरा नगरी हचुवाको तालमा निवेदन आए जग्गा सरकारी हुन्छ, भनेका थिए ।’

मालपोतका हाकिमले फिल्डबुकमा कित्ता नम्बर १२४ मा लालबहादुरको ३ पुस्ते क्लियर छ भनेपछि आफूले लालबहादुर र उनका छोरालाई यत्तिको प्रमाण पुग्छ भनी प्रक्रिया अगाडि बढाउन लगाएको कार्कीले बताए । उनले भने, ‘दशौं वर्षदेखि मन्दिरको जग्गा हो भनी दर्ता प्रक्रियामा धेरै लागेको हो तर, लालबहादुरले प्रमाणसहितको कागज ल्याएपछि सर्जमिन गरेको हो ।’

लालबहादुरको बोली फेरियो

धरान–१४ दुईधारेस्थित नरसिंह भगवान् मन्दिरको जग्गाको निस्सामा देखिएका लालबहादुर थापा मगरले आफ्नो बोली फेरेका छन् ।

मङ्गलबार सञ्चारकर्मीसँग २०१२ देखि नै मन्दिरको जग्गा भएको र पोत पनि मन्दिरलाई नै बुझाएको बताएका लालबहादुरले एकाएक बोली फेरेका छन् । उनले जग्गा मन्दिरकै भएकाले आफ्नो नाममा आए पनि मन्दिरलाई नै दिनुपर्ने बताएका थिए । उनले २०१२ सालदेखि २०२० सालसम्म सो जग्गा आफ्नो दाजु यमबहादुर थापा मगरले कमाएको, २०२० सालदेखि आफूले कमाएको र ०३५ सालसम्म जग्गा फुपाजुले कमाएको बताएका थिए ।

तीनै जनाले जग्गाको पोत मन्दिरलाई नै तिरेको उनको भनाइ थियो । ‘मलाई थाहा थिएन । चासो पनि थिएन । दलालहरु मलाई खोज्दै आए’  लालबहादुरले भनेका थिए, ‘दलालहरुले भनेपछि मात्र थाहा भयो मलाई । मन्दिरको जग्गा हो, मेरो नाममा आए पनि मन्दिरलाई दिनुपर्छ ।’

दुईदिनअघि आफू अदालत नजाने र गए पनि बोली नफेरिने बताएका थिए । तर, बिहीबार धरान–६ को वडा कार्यालयमा उनले नाटकीयरुपमा बोली फेरे । उनले  मन्दिर आफूलाई थाहा नभएको बताए । लालबहादुरका छोरा रमेश मगरले भने आफ्ना बुबाले मादक पदार्थ सेवन गरेर त्यस्तो बोलेको दाबी गरे । तर, सञ्चारकर्मीसँग कुरा गर्दा लालबहादुरले मादक पदार्थ सेवन गरेका थिएनन् । रमेशले प्रमाणका आधारमा दाबी गरेको र लेखापढी सेण्टरमा काम गर्ने साथीमार्फत् जग्गा बुबाको नाममा रहेको थाहा पाएको दाबी गरे ।