किरात संस्कृतिको गलत प्रयोग र विचलनविरुद्ध सचेतना अभियान सुरु गरिने भएको छ ।

किरात राई सांस्कृतिक कलाकार सङ्घले मङ्गलबार पत्रकार सम्मेलन गरेर सुनसरीमा अभियान चलाउने जनाएको हो । गतवर्ष काठमाडौंबाट सुरु गरेको अभियान यसपटक सुनसरीसहित कोशी प्रदेशका सबै जिल्लामा सञ्चालन हुने सङ्घका केन्द्रीय अध्यक्ष शालिक सतासक राईले बताए । नजिकै आइरहेको साकेला उँभौलीलाई लक्षित गरेर सचेतना अभियानको सुरुवात गर्न लागेको उनले बताए । जेठ १० गते सुरु हुने साकेला शिली कार्यक्रमबाट सचेतना अभियान सुरु गर्ने उनको भनाइ छ । 

किराती संस्कार र संस्कृति प्रयोगमा एकरूपता ल्याउन अभियान सञ्चालन गर्नुपरेको अध्यक्ष राईले बताए । ‘किराती संस्कारअनुसार चिण्डो, फेटालगायतको प्रयोग मुन्धुमी मान्यता, व्याख्या र दर्शनको आधारमा हुनुपर्छ’ उनले भने, ‘हामीमा यसको गलत प्रयोग भइरहेको पाएका छौँ, यसले हामीमा विचलन ल्याइरहेको छ, यसलाई तत्कालै सच्याउनु पर्छ भनेर अभियान सञ्चालन गरेका हौँ ।’ 

मौलिक बाजागाजा विभिन्न राजनीतिक दलहरूको कार्यक्रममा प्रयोग भइरहेको भन्दै यो कार्य नगर्न अध्यक्ष राईले अपिलसमेत गरेका छन् । साकेला उँधौली र उँभौलीमा मौलिक भेषभूषा, सांस्कृतिक बाजागाजा, पगरी, साकेला शिली, गीतजस्ता मुन्दुमी दृष्टिकोणले प्रयोग हुने मूर्त र अमूर्त संस्कृतिहरूको गलत प्रयोग भइरहेको उनको भनाइ थियो ।