धरान । धरानस्थित पब्लिक हाईस्कुलका पूर्व विद्यार्थीहरूले आफ्ना सहपाठी साथीको स्मृतिमा विद्यालयलाई ९ लाख ६२ हजार रुपैयाँ प्रदान गरेका छन् ।

स्व.प्रेमचन्द्र गिरी स्मृति कोषका संरक्षक एवम् पूर्व विद्यार्थी श्यामगोविन्द श्रेष्ठ, सुरेशकुमार शर्मा र सूर्यशेखर श्रेष्ठले ९ लाख ६२ हजारको चेक  विद्यालयका प्राचार्य डा. इन्द्रमोहन झालाई हस्तान्तरण गरेका हुन् । विद्यालयका सहायक प्र.अ. लेखनाथ भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्की, शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र किराती, साइन्स तथा इलेक्ट्रिकल विभागका इन्चार्ज मोहन श्रेष्ठ र लेखापाल कमलप्रसाद भट्टराईसहितको उपस्थितिमा एक सम्झौता पत्र तयार गरी उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो ।

पब्लिक हाईस्कुलमा अध्ययन गरी २०१३ सालमा एसएलसी दिएका स्व. प्रेमचन्द्र गिरीको स्मृतिमा उनको निधनपछि सहपाठी तथा साथीहरूबाट सङ्कलन गरेको रकम मुद्दती खातामा जम्मा गरिएको र उक्त रकम साँवा ब्याज गरी उक्त धनराशि हुनपुगेको कोषका संरक्षक श्यामगोविन्द श्रेष्ठले बताए ।

स्व. प्रेमचन्द्र गिरीको नाम चीरकालसम्म रहने गरी शिलालेखमा राख्ने गरी विद्यालयको भौतिक विकास निर्माणमा खर्च गर्न कोषका संरक्षक सुरेशकुमार शर्माले अनुरोध गरेका थिए ।

साथीको स्मृतिमा त्यसबेला गरेको कामले आज ठूलो सार्थकता पाएकोमा कोषका संरक्षक सूर्यशेखर श्रेष्ठले खुसी व्यक्त गरे । विभिन्न क्षेत्रमा रहेका विद्यालयका पूर्व विद्यार्थीहरूलाई समेटेर उनीहरूको विज्ञता र सहयोग लिएर विद्यालयको आवश्यकता पूर्ति गर्न महŒवपूर्ण योगदान मिल्ने भएकाले आफूहरू त्यसतर्फ सक्रिय हुनुपर्ने विचार राख्दै पूर्व विद्यार्थी एवम् साइन्स तथा इलेक्ट्रिकल विभागका इन्चार्ज मोहन श्रेष्ठले सम्पूर्ण पूर्व विद्यार्थीहरू लाई अनुरोध गरेका थिए ।

व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्की, शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र किराती एवम् सहायक प्र.अ. लेखनाथ भट्टराईले विद्यालयलाई सहयोग गरेकोमा खुसी प्रकट गर्दै दाताहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । सबै पक्षको विद्यालयप्रतिको सकारात्मक दृष्टिकोण र सहयोगबाट नै विद्यालय नेपालको नमुना विद्यालयको रूपमा आजको अवस्थामा आइपुगेको प्राचार्य डा. इन्द्रमोहन झाले बताए ।