धरान । धरान–८ को विद्या भूषण स्कुलले विद्यालयको क्याप्टेन एवम् हाउस क्याप्टेन २०८१ छनौटका लागि विद्यार्थीहरूबीच चुनाव गराएको छ ।

छात्रातर्फको क्याप्टेनमा ७९ मत प्राप्त गरी कक्षा ८ की छात्रा सुमिना राई विजयी बनिन् । उनको निकटतम् प्रतिस्पर्धी सौजन्य बुढाथोकीले ५१ मत प्राप्त गरिन्् । यसैगरी छात्रतर्फको क्याप्टेनमा ८९ मत प्राप्त गरी कक्षा ९ का छात्र विवेक राई विजयी बने । उनका निकटतम् प्रतिस्पर्धी श्रीकृष्ण ढकालले ६० मत प्राप्त गरे । यसैगरी चार हाउसका छात्र र छात्रा तर्फका क्याप्टेन छनोटका लागि भएको चुनावमा रेड हाउसबाट छात्र क्याप्टेन पदमा जोयल श्रेष्ठ र छात्रा क्याप्टेन पदमा प्रिया राई विजयी बने भने ब्लु हाउसबाट छात्र क्याप्टेन पदमा आदर्श घिमिरे र छात्रा क्याप्टेन पदमा सुम्निमा राई विजय बनेका छन् ।

यल्लो हाउसको छात्र क्याप्टेन पदमा सन्देश मग्राती र छात्रा क्याप्टेन पदमा एन्जिना राई विजयी बने । त्यस्तै ग्रीन हाउसतर्फ छात्र क्याप्टेनमा सुशाङ तामाङ र छात्रा क्याप्टेनमा शोभा राई विजयी बने । मतदानमा हरेक उम्मेदवारका लागि चुनाव चिन्हहरू निर्धारण गरिएको थियो ।

मतदान प्रक्रियामा कक्षा १ देखि कक्षा ९ सम्मका कुल २ सय ११  विद्यार्थीहरूको सहभागिता रहेको प्रधानाध्यापक नुकेस काफ्लेले जानकारी दिए । प्रयोगात्मक र व्यावहारिक ज्ञानलाई बढी जोड दिँदै आएको यस विद्यालयले जीवनोपयोगी शिक्षालाई व्यवहारमा उतार्न र विद्यार्थीको सर्वाङ्गीण विकासका लागि यस्ता विविध अतिरिक्त क्रियाकलापहरू नियमितरूपमा गर्दै आएको विद्यालयका प्रबन्ध निर्देशक पूर्णचन्द्र ढकालले बताए । कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त प्रचन तामाङ (कक्षा १०) र प्रवक्ता तयमा राई (कक्षा १०) रहेका थिए ।