धरान/  मोरङको सुन्दरहरैँचामा बिहीबार एकमहिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयमोरङका अनुसार हत्यागरिएको अवस्थामा महिलाको शव फेला परेको हो। मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले मोरङको सुन्दरहरैँचा नगरपालिका–५ गोर्खालीटोलमा ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घरमा भेटिएकोजानकारी दिए ।

घरमा श्रीमान् श्रीमती मात्रै बस्दै आएका थिए । उनका ५० वर्षीय श्रीमान् पदमबहादुर तामाङ सम्पर्कविहीन रहेको उनले जानकारी दिए। प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा हत्या गरेर श्रीमान् फरार रहेको हुनसक्ने अनुमान गरिएको छ।छोरी रत्नाले हत्या भएको अवस्थामा आमाको शव देखेपछि बिहीबार बिहानै प्रहरीलाई खबर गरेकी थिइन् ।

‘हामीलाई छोरीमार्फत् घटनाबारे जानकारी भयो’ डिएसपीबस्नेतले भने, ‘तत्कालै इलाका प्रहरी कार्यालय बेलबारीमार्फत् घटनाको अनुसन्धान सुरु गरिएको छ ।’महिलाको शव अर्धनग्न र उत्तानो परेको अवस्थामा शव भेटिएको छ। महिलाको हात तथा शीरका विभिन्न भागमा चोटपटक लागेको अवस्था शव फेला परेको प्रहरीले जनाएको छ । शव रहेको कोठाको ढोका पनि खुल्लै अवस्थामा रहेको थियो ।

मृतक मनमायालाई कुनै वस्तुले हिर्काएर हत्या गरेको देखिएको छ। छोरी रत्नाले प्रहरीलाई दिएको जानकारीअनुसार राति ‘मृतक मनमाया रक्सीले मातेर लडिरहेको छ’ भनी बुबा (पदमबहादुर)ले फोन गरेका थिए। भोलिपल्ट अर्थात् बिहीबार बिहान चाहिँ आमाको शव फेला परेको र बुबा सम्पर्कविहीन भएको भन्दै प्रहरीलाई रत्नाले फोन गरी बताएकी थिइन्। सोही मौखिक उजुरीका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

दम्पतीको एक छोरा र एक छोरी रहेका छन्। छोरा हाल वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ भने छोरी रत्नाको पनि बिहे भइसकेको छ। छोरीको भनाइ उद्धृत गर्दै प्रहरीले पदमबहादुरले मदिरा सेवन गरी कुटपिट गर्दै आएका थिए । बुधबार पनि कुटपिट गर्न थालेपछि मृतक मनमाया छिमेकीको शरणमा पुगेको जनाइएको छ। केही समयपछि भने उनी घर गएकी थिइन्।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले मुचुल्का उठाई शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ। पोष्टमार्टमपछि घटनाबारे थप जानकारी हुने प्रहरीले जनाएकोछ ।