धनकुटा । काठमाडौंबाट सङ्खुवासभा जाँदै गरेको माइक्रो बस शनिबार बिहान भेडेटार–धनकुटा सडक–खण्डको मूलघाटमा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले दिएको जानकारीअनुसार शनिबार बिहान २ बजे वा. ५ ख ७२४ नम्बरको सङ्खुवासभा जाँदै गरेको माइक्रो बस मूलघाटनजिकैको जङ्गलमा दुर्घटना भएको हो । दुर्घटनामा परी माइक्रो बसमा सवार अधिकांश घाइते भएका छन् ।

दुर्घटनामा परी खाँदबारी नगरपालिका वडा नं. ५ माल्टा घर भएकी वर्ष ५९ की दुर्गादेवी राई गम्भीर घाइते भएकी छन् । उनको जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । उनको दाहिने हात भाँचिएको जिल्ला अस्पताल धनकुटाको आकस्मिक कक्षले जनाएको छ । १२ जनाभन्दा बढी घाइतेलाई दुर्घटनास्थल मूलघाटबाटै उपचारका लागि धरानतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला अस्पताल धनकुटामा सामान्य उपचार गराइरहेका पाँचखपन नगरपालिका वडा नं.६ घर भएका वर्ष ३९ का सुमन श्रेष्ठ, खाँदबारी न.पा.वडा नं.१ का वर्ष ३५ का अल्का भण्डारी, सोही वडा बस्ने वर्ष ७ का अशिन तिम्सिना, भोटखोला गाउँपालिका वडा नं.४ घर भएका वर्ष ३५ की लविना राई र भोजपुर षडानन्द नगरपालिका वडा नं.५ फुर्केथला घर भएका वर्ष ६५ का कृष्णबहादुर दाहालको जिल्ला अस्पताल धनकुटामा उपचार भैरहेको छ ।

अन्य घाइतेहरूमा खोटाङ दिक्तेल–१ बस्ने वर्ष ४२ को कल्पना थापा, खाँदबारी–१ बस्ने वर्ष २७ की अनुरा मास्के, चितवन कालिका न.पा.–६ बस्ने वर्ष ३७ का अर्जुन घिसिङ, काठमाडौं महानगर–१६ का सृजना गुरुङ, धनपा–१ बस्ने वर्ष ५५ का गङ्गाराम गोम्देन, धनकुटा–३ का रञ्जना राना, बेलबारी–११ बस्ने वर्ष २५ का अमर सुवेदी, काठमाडौं महानगर–१९ का ५० वर्षीया सीता राई, धनकुटा–९ का वर्ष ३३ का सविता राई, धनपा–९ कै वर्ष ३३ का सूर्यबहादुर राई, कानेपोखरी–३ का वर्ष ३५ का लेखराज गिरी, काठमाडौं महानगर–१६ का वर्ष ५८ का रत्न राना मगर, वडा नं. ३१ का वर्ष ४३ को कविता राई, वडा नं. १० बस्ने वर्ष ३१ को दुर्गा घिमिरे सामान्य घाइते भएका छन् । 

उनीहरूको अवस्था सामान्य रहेको जिल्ला अस्पताल धनकुटाले जनाएको छ । अन्य घाइतेको नाम, वतन खुल्न सकेको छैन । दुर्घटनामा परी घाइते भई जिल्ला अस्पताल धनकुटामा उपचार गराइरहेका सुमन श्रेष्ठले भने, ‘म आफू डाइभर बस्ने सिटनजिकै अगाडिको सिटमा बसेको थिएँ, मूलघाटस्थित तमोरको पुलसम्म ठीकै थियो, त्यहीबेला निदाएँछु, एक्कासि ड्याम्म आवाज आएको मात्र थाहा भयो, माइक्रो कति बल्ड्याङ खायो थाहा भएन ।’ उनले काठमाडौंबाट अगाडिको सिटमा २ जना चढाएर ल्याएको र सिन्धुलीबाट थप एक जना महिला हालेर ३ जना खचाखच गरेर ल्याएको बताए । दुर्घटना कसरी भयो भन्ने थाहा नभएको श्रेष्ठले बताए ।

अर्का घाइते षडानन्द नगरपालिका वडा न.५ फुर्केसल्ला घर भएका वर्ष ६५ का कृष्णबहादुर दाहालले आफू जिन्दगीमा पहिलो पटक दुर्घटनामा परेको बताए । चालकको लापरबाहीले गर्दा आफूहरू दुर्घटनामा परेको बताएका छन् । उनले माइक्रोको अघिल्लो भागमा चालकसहित बढीमा दुई जनालाई मात्र राखेर ल्याउनु पर्नेमा सिन्धुलीबाट जबर्जस्ती १ जना महिला थप गरी ४ जना ल्याएकोले दुर्घटना भएको बताएका छन् । माइक्रो बसका चालक हरिशरण आले मगरलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले नियन्त्रणमा लिएको छ । रातिको समयमा दुर्घटना भएकाले धरान पठाएका बिरामीहरूको नाम खुल्न नसकेको मूलघाट प्रहरी चौकीका इन्चार्ज राजेन्द्र पाण्डेले बताए ।

accident 1