विराटनगर । बिहीबार दिउँसो मध्यान्ह ११ बजेको समय । विराटनगरस्थित अतिथि सदनमा भीडभाड थियो । अरूबेला  सामाजिक कार्यक्रम भइरहने अतिथि सदनमा बिहीबार छुट्टै माहोल थियो । धेरैजना मोरङको ग्रामीण क्षेत्रका मानिसहरूको जमघट थियो । उपस्थितमध्ये कोही जन्तीका रूपमा आएका थिए भने कोही कन्यादान गर्न उपस्थित थिए ।

अतिथि सदनमा विवाहका लागि ठूलो पण्डाल टाँगिएको थियो । बाजागाजासहित विवाहको माहोलमा सबै रमाइरहेका थिए । सतार समुदायको सांस्कृतिक टोलीले बाजा बजाइरहेको थियो भने महिलाहरू सांस्कृतिक नाचमा मग्न थिए । विवाहस्थलको झकिझकाउ हेर्दा लाग्थ्यो, त्यहाँ उच्च आर्थिक हैसियत भएको कुनै परिवारको विवाह भइरहेको छ । त्यहाँ तयार पारिएका भव्य द्वारदेखि मञ्चको अवस्थाले पनि त्यस्तै महसुस हुन्थ्यो । विवाहस्थलमा भव्य मञ्च र परिसरमा १५ वटा मण्डप थिए । जहाँ पन्ध्र जोडी युवाहरूको छुट्टाछुट्टै मण्डपमा आ–आफ्नो संस्कृतिअनुसार विवाह भइरहेको थियो ।

मण्डपमा सन्थाल समुदायका १३, चौधरी र राजवंशी समुदायका एक–एक जोडीको विवाह गरिएको थियो । यो सामूहिक विवाहको आयोजना माहेश्वरी मञ्चले गरेको हो । आर्थिकरूपमा विपन्नहरूलाई छोराछोरीको विवाह पारिवारिक जिम्मेवारीसँगै आर्थिक बोझ उठाउने बाध्यता पनि हो । सामूहिक विवाह कार्यक्रम यो बाध्यताबाट छुटकारा पाउने उपाय हुनसक्छ भन्ने सन्देश दिने उद्देश्यले माहेश्वरी महिला मञ्चले कार्यक्रम आयोजना गरेको हो ।

मञ्चले समाजसेवी अर्चना तापडियालाई संयोजक बनाएर सामूहिक विवाह समारोह आयोजना गरेको थियो । तापडियाको सक्रियता र समन्वयले सामूहिक विवाह गर्ने प्रस्तावमा जहदा गाउँपालिका सकारात्मक बनेपछि वडाध्यक्षहरूको सहयोगमा विवाह गर्न योग्य जोडीहरूको खोजी भएको थियो । वडाध्यक्षहरूको सहयोगमा १५ जोडी सामूहिक विवाहका लागि तयार भएका थिए । वर र वधू दुवै पक्षको सहमतिमा उनीहरूलाई विवाह कार्यक्रममा सहभागी गराइएको थियो । विवाह गर्ने सबै २० वर्ष उमेर पूरा गरिसकेका छन् । यसले तराई क्षेत्रमा बसोबास गर्ने आदिवासीहरूमा व्याप्त बालविवाह गर्ने प्रवृत्तिविरुद्धको जनमत तयार पार्न पनि महत्वपूर्ण सहयोग गर्ने आयोजकको विश्वास छ ।

विवाह गर्ने जोडीहरूले विवाहका लागि कुनै खर्च गर्नु परेन । सामूहिक विवाह गर्दा लाग्ने सबै खर्च माहेश्वरी महिला मञ्चले व्यहोरेको थियो । सबै बेहुलीका लागि एक थान सुनको तिलहरी, टप, फुली, चाँदीको पाउजू बिछियादेखि लत्ता कपडा आयोजकले किनिदिएको छ । त्यस्तै हरेक नवजोडीका लागि पलङ, दराज, कुर्सी, डसना, सिरक, सुटकेशदेखि भान्छामा प्रयोग हुने एकसरो सामान पनि उपहारको रूपमा प्रदान गरिदिएको छ । त्यतिमात्र होइन, बेहुलीहरूलाई आर्थिक सुरक्षाप्रति संवेदनशील बनाउन उनीहरूको नाममा सेन्चुरी बैङ्कमा ११ हजार रुपैयाँको मुद्दति खाता खोलिदिएको माहेश्वरी महिला मञ्चकी अध्यक्ष पुनम राठीले जानकारी दिइन् ।

जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र साहले सामूहिक विवाह कार्यक्रमबाट आफू अत्यन्तै प्रभावित बनेको बताए । उनले भने, ‘स्थानीय सरकारको प्रमुखको हिसाबले यस्तो काम मैले नै गर्नुपर्ने थियो तर, तपाईंहरूले आयोजना गरेर धेरै राम्रो सुरुवात गर्नुभएको छ । यसबाट हामीले शिक्षा लिएका छौँ । यो धेरै राम्रो सुरुवात हो ।’ सामूहिक विवाहमा मञ्चले झण्डै ३० लाख रुपैयाँ खर्च गरेको थियो । ५ सय जनाभन्दा बढी विवाह भोजमा सहभागी भएका थिए ।