स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकाका लागि राष्ट्रिय भिटामिन (ए) कार्यक्रम सञ्चालन गरिरहेको छ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा भिटामिन (ए) क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ।

विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले करिब ३२ लाखलाई भिटामिन ए र करिब २९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको जानकारी दिएका छन्।

“हरेक वडामा स्वास्थ्य स्वयंसेविकाहरूले बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने छन्”, उनले भने, “अभिभावकले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन सकिने छ ।”

कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिएका थापाले जानकारी दिएकन छन्। सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन (ए)र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ। भिटामिन र जुकाको औषधिले स्वास्थ्य जटिलता र कुपोषणको जोखिम न्यूनीकरण गर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ।