विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्र रानीमा दुई समूहबीच झडप भएपछि बुधबार दिउँसो सो क्षेत्र दिनभरि तनावग्रस्त भएको छ । 

रामनवमी पर्व मनाउन हिन्दू सम्राट सेनाको अगुवाइमा निकालिएको र्यालीमा उच्छृङ्खल गतिविधि गर्ने समूहले आक्रमण गरेपछि रानी क्षेत्र दिनभरि तनावग्रस्त भएको हो ।

भारतसँग सीमा जोडिएको क्षेत्र रानीमा हिन्दू धर्मावलम्बीहरूलाई एक समूहले अवरोध गरेपछि उत्पन्न विवाद दङ्गाको रूपमा परिणत भएको थियो । विराटनगर–१५ र १७ नम्बर वडाको सीमा क्षेत्र रानी तनावग्रस्त भएपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएको थियो । दुवै पक्षको विवादले उग्र रूप लिई दङ्गामा परिणत भएपछि स्थानीय प्रशासनले सयौंको सङ्ख्यामा प्रहरी परिचालन गरेको थियो ।

तीन ठाउँमा झडप हुँदा पाँच जना प्रहरी र दुवै समुदायका व्यक्तिहरू घाइते भएका छन् । झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो । तनावपूर्ण अवस्थालाई साम्य पार्न प्रहरीले २८ राउन्ड अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । दुवै पक्ष एक–अर्काको घेराबन्दीमा रहेको कारण कुनै पनि समय ठूलो दुर्घटना हुनसक्ने सम्भावना देखेर व्यापक सङ्ख्यामा प्रहरी परिचालन गरिएको उनले बताए ।

र्यालीमा सहभागी भएका जितकुमार साहले शान्तिपूर्ण र्याली निकाल्ने क्रममा उच्छृङ्खल गतिविधि गर्ने समूहले आक्रमण गरेको बताए । उक्त ¥याली विराटनगर रानी हुँदै जहदा गाउँपालिका परिक्रमा गरी महानगरपालिकाको १५, १६, १७ र १८ नम्बर वडा हुँदै बजार प्रवेश गर्ने क्रममा रानीमा झडप भएको उनले बताए ।

रामनवमी पर्वमा सबैसँग छलफल र समन्वय गरेर शान्तिपूर्ण र्याली निकाल्ने सहमति भएअनुसार निकालेको उनले बताए । ‘विराटनगरको १७ नम्बर वडा प्रवेश गरेपछि सुरक्षाकर्मीले रोक्न खोज्दा उच्छृङ्खल गतिविधि गर्ने समूहले र्याली बिथोल्ने प्रयास गरेको हो’–उनले भने ।