धरान । कोशी प्रदेशका विभिन्न स्थानमा भएको सडक दुर्घटनामा तीनजनाको ज्यान गएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार मोरङको विराटनगरमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा को.२६ प ९८५१ नम्बरका मोटरसाइकल चालक मोरङ विराटनगर महानगरपालिका–१४ का ४५ वर्षीय उत्तिमलाल यादव रहेका छन् । महानगरको १० नम्बर वडास्थित कोभिड अस्पतालछेउमा को.२ त ५५४६ नम्बरको इँटा लोड गरिएको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक यादव गम्भीर घाइते बन्न पुगेका थिए । टाउकोमा चोट लागेका उनलाई तत्कालै सप्तकोशी अस्पताल विराटनगरमा लाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टर चालक मोरङ कटहरी गाउँपालिका–६ का ४० वर्षीय मनोज रामलाई केही समयपछि नियन्त्रणमा लिइएको छ । घटना मङ्गलबारको हो ।

यस्तै मोरङको पथरीशनिश्चरे नगरपालिका–१० डाँस खोलाको पुलमा मोटरसाइकलले पैदलयात्री सोही नगरपालिका–१० ऐयाबारीका ४१ वर्षीय बद्रिविक्रम श्रेष्ठको ज्यान गएको छ । ज.१० प ४०२८ नम्बरमो पल्सर मोटरसाइकलले पूर्व–पश्चिम राजमार्गमा पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो । गम्भीर चोट लागेका उनलाई तत्कालै न्यूरो अस्पताल विराटनगरतर्फ लगे पनि चेकजाँचको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक धनुषा मिथिला नगरपालिका–८ का २८ वर्षीय श्रीप्रसाद महतलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

साथै ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–७ जोखरिया दुम्सेखोलास्थित भित्रीसडक–खण्डमा ट्याक्टर अनियन्त्रित भई सडकबाट तल झर्दा सवार एकजनाको ज्यान गएको छ । प्रहरीका अनुसार लु.३ त ९९७४ नम्बरको ट्याक्टर सडकबाट ५० मिटर तल झर्दा सिद्धिचरण नगरपालिका–७ का २१ वर्षीय फुर्तेम्बा शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक मोलुङ गाउँपालिका–२ का २५ वर्षीय अभन सुनुवारको टाउको र ढाडमा चोट लागेपछि तत्काल उपचारका लागि सामुदायिक मिसन अस्पताल ओखलढुङ्गा लगिएको छ । उनको अवस्था गम्भीर रहेको जनाइएको छ । चालकको लापरबाहीका कारणले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यस्तै झापाको मेची राजमार्गस्थित चारआली–भद्रपुर सडक–खण्डमा म्याजिक भ्यान र ट्याक्टर ठोक्किँदा पाँचजना घाइते भएका छन् । म्याजिक भ्यानमा सवार रहेका पाँचमध्ये एकजना गम्भीर रहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो ४ बजेतिर प्रदेश १–०१–००१ ज ३६५८ नम्बरको म्याजिक भ्यान र चन्द्रगढीतर्फ आइरहेको प्रदेश ०१–००१ त ९६४७ नम्बरको ट्याक्टर ठोक्किएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।