धरान । युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्रा.डा. उषा ठाकुरलाई प्रदान गर्ने भएको छ । यसैगरी युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार नवराज कार्कीलाई प्रदान गर्ने भएको हो ।

प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै तीनदशकदेखि युगकविका कृतित्व र व्यक्तित्वका बारेमा अध्ययन तथा अनुसन्धान गरी देशविदेशमा सन्देश फैलाउन विशिष्ट योगदान पु¥याए बापत प्रा.डा. ठाकुरलाई पुरस्कार प्रदान गर्न लागिएको जनाइएको छ ।

यस्तै लामो समयदेखि पत्रकारिता क्षेत्रमा अनवरत योगदान गरेबापत पत्रकार कार्कीलाई युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो । पत्रकार कार्की ओखलढुङ्गा जिल्लामै रहेर डेढदशक अघिदेखि पत्रकारिता गर्दै आएका छन् । प्रतिष्ठानले उपाध्यक्ष प्रा.डा. मोहन लोहनीको संयोजकत्वमा सदस्यद्वय प्रा.डा. अभि सुवेदी र प्रा.डा. जयराज आचार्यसहित तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो ।