ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आगामी जेठ ३ देखि ७ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ। जिल्ला समन्वय समितिको समन्वयमा पर्यटन महोत्सवको तयारी थालिएको हो। 

जिल्लाका सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाका प्रमुखहरूको बैठकले पर्यटन महोत्सव मनाउने निर्णयसँगै तयारी थालिएको समितिले जनाएको छ। महोत्सव तोक्मेडाँडास्थित नेपाली सेनाको ब्यारेकमा आयोजना हुनेछ।

महोत्सवमा पर्यटकीयस्थलको अवलोकन, खाद्य महोत्सव, होमस्टे प्रवर्द्धन र मेयरकप भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।

यस्तै पाथीभरा खुल्ला म्याराथन प्रतियोगिता, लोक झाँकी तथा सांस्कृतिक कार्यक्रम, डोको क्यारी रन, डोको तथा टपरी बुन्नेसहित तेस्रो औद्योगिक कृषि मेला ताप्लेजुङ पर्यटन महोत्सवमै आयोजना गर्ने बैठकले निर्णय गरेको छ।