इटहरी । टेङ्ग्रा खोला सफाइ अभियानको क्रममा सार्वजनिक जग्गा मिचेर भौतिक संरचना निर्माण गर्नेमा इटहरीका चर्चित व्यवसायीदेखि पूर्व मन्त्रीसम्म रहेको भेटिएको छ ।

नगर वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीका अनुसार हालसम्म ५४ वटा भौतिक संरचना भत्काइएको छ । जसमा पूर्व मन्त्रीसम्मले खोला क्षेत्र अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेको पाइएको उनले बताए । पूर्व सङ्घीय मन्त्री रामकुमार सुब्बाको क्षेत्रमा नापजाँच गरी खोलाको जग्गामा रहेका संरचना हटाउन भनिएको संयोजक चौधरीले बताए । खोलाले धार परिवर्तन गर्दा पूर्व मन्त्री सुब्बाको केही जमिन खोलामै मिसिए पनि नापजाँचपछि सीमा निर्धारण गरी संरचना हटाउन भनिएको उनले बताए ।

यता पूर्व मन्त्री सुब्बाले फोनसम्पर्कमा आफूले खोलाको जग्गा अतिक्रमण नगरेको तर, खोलाले चाहिँ आफ्नो जग्गा लगेको पीडा सुनाए । ‘अहिले पनि खोला मेरै आँगनबाट बग्छ म सबैभन्दा बढी पीडित भको चैं कसले देख्छ ?’–सुब्बाले भने । उनले आफूले थोरै जग्गा दिँदा समग्र इटहरीवासी र सिङ्गो नगरको विकास हुन्छ भने आफू किन पछि हट्ने भनी आफैले खोलाको जग्गा निर्धारण भएको क्षेत्रका संरचना हटाउन लगाइसकेको पनि बताए ।

अभियानको २० औँ दिनसम्म आइपुग्दा ठूला घरानाहरूले पनि जग्गा मिचेको भेटिएको उनको भनाइ छ । इटहरी–२ बाट सुरु भएको अभियान ३, ४, ६, ८ हुँदै हाल ९ नम्बर वडामा सञ्चालित छ । यस क्रममा इटहरी–४ को सेतो बङ्ला स्कुल, ६ नम्बर वडामा वेदान्त अस्पताल, इन्खा आँखा अस्पताल, भूतपूर्व सैनिक क्लब भवन, बजार क्षेत्रका संरचना, शौचालय आदिले खोलाको जग्गा मिचेको भेटिएको अभियानका संयोजकसमेत रहेका प्रमुख चौधरीले बताए । उनले खोला मिचिएका जग्गाहरू खाली गर्ने क्रममा डोजर लगाइएको छ ।

टेङ्ग्राको मुहान तालतलैयाबाट सुरु भएको अभियान इटहरी बजार हुँदै ९ नं.को मुख्य राजमार्ग क्षेत्र आइपुगेको छ । इटहरी बजार वडा नं. ४ र ६ मा मात्रै २३ वटा संरचना भत्किएको संयोजक चौधरी बताउँछन् । बिगबार रेष्टुरेन्टले खोलाको जमिन मिचेर पर्खाल निर्माण गरेको भेटिएको वातावरण शाखा प्रमुख चौधरीले बताए ।

यसैबीच टेङ्ग्रा करिडोर निर्माण योजना अन्तर्गत इटहरी क्षेत्रमा पर्ने उद्योगहरूलाई पनि खोला वा सरकारी जमिन खाली गर्न पत्र काटिसकेको इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले बताए । ‘उद्योगहरूले पनि खोलाको जग्गा मिचेको देखियो त्यसैले तत्काल खोलाको जग्गा छोड्न पत्राचार गरिएको छ’–नगरप्रमुख पौडेलले भने ।