बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले हल्दीबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई नियन्त्रणमा लिएको छ ।

उनले जिल्ला विकास समितिका पूर्व संयोजक सोमनाथ पोर्तेलमाथि जातीय भेदभाव गरेको कसूरमा जाहेरी दर्ता भएको थियो । जिल्ला समन्वय समिति झापाका पूर्व संयोजक पोर्तेलले गिरीविरुद्ध इप्रका बिर्तामोडमा चैत २८ गते जाहेरी दिएका थिए । सोही जोहरीका आधारमा प्रहरीले गिरीलाई वैशाख १ गते साँझ बिर्तामोडबाट नियन्त्रणमा लिएको झापा प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

पोर्तेल जिल्ला समन्वय समितिका संयोजक भएको समयमा गिरी हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष निर्वाचित भएका थिए । नेकपा (एमाले)बाट निर्वाचित दुवैबीच पछिल्लो समयमा दूरी बढेको थियो । खासगरी २०७९ सालको निर्वाचनमा नेकपा (एमाले) ले झापा क्षेत्र नम्बर ३ मा राप्रपाका राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने निर्णय गरेको थियो । सो निर्वाचनमा गिरीले स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीले कारबाही गर्ने निर्णय गरेको थियो ।

कारबाहीबाट असन्तुष्ट गिरी एमाले नेतृत्वमाथि खनिदै आएका थिए । यसबीचमा उनले एकीकृत नेकपा समाजवादी पार्टी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीको समेत वकालत गर्न भ्याएका छन् । आफू एमाले नै रहेको भन्दै एमालेको राजनीतिमा सक्रिय हुने अभिव्यक्ति दिँदा पनि पार्टीले उनको सदस्यता नवीकरण नगरेपछि उनी आक्रोशित भएका हुन् ।

पूर्व उपाध्यक्ष गिरीले जिसस झापाका तत्कालीन प्रमुख पोर्तेललाई टेलिफोन संवादमार्फत् जातीय तथा अन्य छुवाछूत, भेदभाव कसूर र सजाय ऐन २०६८ आकर्षण हुने गरी अभिव्यक्ति दिएका थिए । चैत १८ गते हल्दीबारीमा पार्र्टीको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौज गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएका थिए ।

दलित अधिकारको क्षेत्रमा नेतृत्व गर्ने पोर्तेललाई फोनमार्फत् जातको आधारमा अपमान र विभेद गर्ने गिरीलाई कानूनी कारबाही गर्न झापाका दलित सङ्घ–सङ्गठनहरूले संयुक्त रूपमा अपिलसमेत गरेका थिए । पोर्तेलमाथि गिरीले गरेको दुव्र्यवहारविरुद्ध झापाका दलित सङ्घ–संस्थाका प्रतिनिधिले विज्ञप्ति जारी गरेर कारबाहीको माग गरेका थिए । पोर्तेल नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिव, नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेका छन् ।