विराटनगर । कोशी प्रदेश सभाको विशेष अधिवेशन वैशाख ६ गतेका लागि आह्वान गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाका एक चौथाई भन्दा बढी प्रदेशसभा सदस्यहरुले दिएको पत्रको आधारमा उक्त अधिवेशन बोलाएका हुन् । २६ चैतमा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए ।

सोही दिन मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद्को निर्णय अनुसार ११ जेठ २०८१ मा संसदको नियमित अधिवेशन आह्वानका लागि निवेदन दिएका थिए । दुई दिन परामर्श गरेका प्रदेश प्रमुख खापुङले ६ बैशाख २०८१ दिउँसो १ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

‘कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाई भन्दा बढी प्रदेशसभा सदस्यहरुको मिति २०८०।१२।२६ गतेको लिखित अनुरोधमा माननीय प्रदेश प्रमुख पर्शुराम खापुङज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा ९३० बमोजिम संवत् २०८१ साल वैशाख ६ गते बिहीबार दिनको १ः०० बजे कोशी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।