भद्रपुर । भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएका दुईवटा भारतीय नम्बर प्लेट भएका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा सोमबार राति धुलाबारी चोकबाट एचआर ६९ सी ४६५९ र जीटी ३४६५ नम्बरको दुईवटा ट्रक नियन्त्रणमा लिएको  जनाएको छ । ट्रकमा भारतीय सेनाबाट अवकाशप्राप्त १० जना नेपालीहरू रहेका छन् । उनीहरू प्रयोग गरिएका पुराना सरसामान (झिटीगुण्टा) हरू लिएर घर फर्किंदै थिए । उनीहरू सबैको घर पश्चिमी नेपाल हो ।

यात्रु शाखाबाट पुराना सरसामानको जाँचपास गराए बापत ६० हजार राजश्व भन्सार बुझाएको प्रज्ञापन–पत्र प्रहरीले फेला पारेको जनाएको छ । तर, ट्रकभित्र प्रयोग भएका पुराना सामानसहित १७ वटा नयाँ वासिङ मेसिन रहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।

सोही सूचनाको आधारमा प्रहरीले दुवै ट्रकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ । जाँचपास गराउँदा नयाँ वासिङ मेसिनको भन्सार नतिरेको स्रोतको दाबी छ । दुवै ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।