विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा बुधबार दिनदहाडै भएको तरवार प्रहारबाट दुईजना घाइते भएका छन् ।

विराटनगर-१४ जतुवामा तरवार प्रहारबाट विराटनगर-१४ का ४० वर्षीय सन्तलाल यादव र सोही ठाउँका ३० वर्षीय प्रकाश यादव घाईते भएका हुन् । विराटनगर-१४ का पूर्व वडाध्यक्ष बलदेव यादवको योजनाअनुसार १० जनाको समूहले उनीहरुलाई जग्गा विवादको विषयलाई लिएर आक्रमण गरेको पीडित पक्षको भनाइ छ । उनीहरुमाथि विराटनगर(१४ का जोगी भनिने योगी यादव, फुलेश्वर यादव, शंकर यादव, जय प्रकाश यादव, राजेश यादव, दिपेश यादव, विजो भनिने विजय यादव, निलु यादव, रविन भनिने शंकर यादवको समूहले आक्रमण गरेको पीडितको आरोप छ । घाइतेमध्ये सन्तलालले पुर्व वडाध्यक्ष बलदेवको घर छेउमा नयाँ घर बनाउँदैछन् । सन्तलालको पुरानो घर विराटनगर १४ रेलवेदेखि पुर्वमा रहेको छ । अहिले उनले विराटनगर १४ धरामवाद रोडमा नयाँ घर बनाउँदैछन् ।

उनी र प्रकाश मोटसाइकलमा चढेर निर्माणाधीन घरतर्फ बुधबार दिउँसो आउँदै थिए । ‘घरदेखि झण्डै दुई मिटर टाढा पुगेपछि बलदेवको मकैबारीमा बसेका १० जनाको समूहले तरवार लिएर आए । हामीमाथि तरवारले आक्रमण गरे । तरवारले टाउँकोमा पनि प्रहार गरे । हेलमेट लगाएकोले टाउको जोगियो । धेरै पटक हामीमाथि तरवार प्रहार गरेको थिए । जोगिँदा जोगिँदै पनि हातमा तरवारले लागो’ अस्पताल शय्यामा उपचार गरिरहेका घाइते सन्तलालले भने, ‘जग्गाको विवादलाई लिएर पूर्व वडाध्यक्ष बलदेव यादवको निर्देशनमा उहाँकै मकैबारीमा हामीथि नियोजित रुपमा आक्रमण भएको छ । भागेर ज्यान जोगियो ।’ आक्रमणकारीले मार्ने उद्देश्यले हमला गर्न निर्देशन दिने र आक्रमण गर्नेलाई कारबाहीको लागि पीडित पक्षले माग गरेको छ ।

सन्तलालको नयाँ घरको बिहीबार ढलाई रहेको थियो । दुई महिनाअगाडी जग्गाको विषयलाई लिएर इलाका प्रहरी कार्यालय रानी विराटनगरमा पनि छलफल भएको भएको थियो । जग्गा विवादलाई लिएर बलदेवले आक्रमण गर्ने बताउँदै आएका पीडितको भनाइ छ । घाइते भएका सन्तलालको विराट टिचिङ्ग हिस्पटल र प्रकाशको न्यूरो हस्पिटलमा उपचार भइरहेको छ । तरवार प्रहारबाट सन्तलाललाई गहिरो चोट लागेको छ । उनको बाँदा हात र बायाँ औँलामा गहिरो चोट लागेको छ । सन्तलालको हातमा गहिरो चोट लागेर नशामा पनि असर पुगेको कारणले उनको भास्कुलर सर्जरी गरिनुपर्ने भएकोले थप उपचारको लागि विराट लगिएको चिकित्सकले बताए ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले घटनाको अनुसन्धान सुरु गरिएको बताए । ‘हामी घटना के भएको हो । बुझेर अनुसन्धान गर्दै आएका छौ’ उनले भने, ‘घटनामा संलग्नलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनेछौं ।’ आरोपित पूर्व वडाध्यक्ष बलदेव यसअघि पनि कर्तब्य ज्यान मुद्दामा मुछिएका थिए । विराटनगर- १४ का ५५ वर्षीय समानन्द यादवको हत्या आरोपमा मोरङ प्रहरीले उनीसहित १० जनालाई ‘कर्तब्य ज्यान मुद्दाका’ प्रतिवादी बनाएको थियो ।

२०७७ मंसिर ११ गते मोरङ अदालतका तत्कालिन न्यायाधीश तेजबहादुर खड्काको इजलासले यादवलाई तीन लाख रुपैयाँ धरौटिमा छोडन आदेश दिएका थिए । कर्तब्य ज्यान मुद्दाका प्रतिवादी रहेका यादव वर्षौसम्म फरार रहे । प्रहरीको तिव्र खोजीमा रहेका यादव लामो समयदेखि भारतमा बसोवास गरेको कारणले उनी पक्राउ परेका थिएनन् । मोरङ अदालतमा सुटुक्क उपस्थित भएकै दिन थुनछेक आदेश भयो । त्यसपछि उनी धरौटिमा छुटेका थिए । विवाहको विषयमा विवाद हुँदा २०७६ साल जेठ ३ गते विराटनगर महानगरपालिका- १४ का वडाध्यक्ष यादवको घरमा बसेका पञ्चायतीले विराटनगर(१४ का ५५ वर्षीय समानन्द यादवमाथि निर्घात कुटपिट गरेको थियो । कुटपिटबाट घाइते यादवको एक महिनापछि २०७६ साल असार २६ गते मृत्यु भएको थियो । यादवका परिवारले घटनामा संलग्न भएको आरोपमा तीनजना वडाध्यक्षसहित १० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

यता पुर्व वडाअध्यक्ष बलदेव यादवले घटनामा आफ्नो र मेरो परिवारको कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् । ‘राजनैतिक चलखेल गरेर मलाई बिपक्षीले लगाएको निराधार आरोप हो । घटना हुँदा म घरमै थिए । फेरी म मुटुको विरामी मान्छे । कसरी त्यहाँ पुग्छु,’ फोनमा कुराकानी गर्दै बलदेव यादवले भने । यता सन्तलालतिरबाट पनि आक्रमण गर्दा विराटनगर १४ का पुलेश्वर यादव घाइते भएका उनले बताएका छन् ।