भद्रपुर । आठ महिनाअघि कुवेत गएकी मेचीनगरकी एक महिला उतै एजेन्टको बन्धकमा परेकी छन् ।

मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित मेचे गाउँकी २८ वर्षीया सपना ठटाल गत भदौमा घरायसी कामका लागि नौ महिनाको काखको बच्चा छाडेर कुवेत गएकी थिइन् ।

काठमाडौंको अल्फा क्लाप मेनपावरका सञ्चालक नारायण थापाले विना लगानी मासिक ४० हजार दिने सहमतिमा आठ महिनाअघि कुवेतस्थित अल्जाहरा सहरको एउटा घरमा काम लगाइदिएको परिवारको दाबी छ । पीडित सपनाका पति श्यामबहादुर दर्जीले सञ्चालक थापाले श्रीमती चाहिए ९ लाख लिएर आउन धम्की दिएको आरोप लगाए ।

सञ्चालक थापाले गत पुस २९ गते फोन गरेर उक्त पैसा मागेको परिवारको भनाइ छ । श्यामकी भाउजू पुष्पा दर्जीले सपनालाई एजेन्ट थापामार्फत् काममा विदेश पठाएको बताइएको छ । पुष्पाले बन्धकबाट बचाएर घर फर्काउन कोशिस गरिरहेको मात्र भन्ने गरेको श्यामको भनाइ छ ।

‘विदेश गएको २ महिनापछि ४० हजार पठाइदिएकी थिइन्’ उनका पति दर्जीले भने, ‘त्यसपछि सम्पर्कमा थिइनन् । १० दिनअघि मात्र पत्नी सपनाको कुवेतबाट फोन आयो ।’ फोनमा उनले बन्धक बनाएर राखेको । खान नदिने, कुटपिट गर्ने गरेको बताएको उनले सुनाए ।

सपनाकी आमा कृष्णमाया परियारले छोरी सपनालाई मिडियामार्फत् जसरी पनि घर ल्याइदिन भावुक हुँदै सबैलाई सहयोग गरिदिन अपिल गरेकी छन् । सपनाका २ जना छोराहरू छन् । ठूलो छोरा १० वर्षको सन्देश शिवा र सानो छोरा ९ महिनाको सविर शिवा छन् । साना छोराहरूको भविष्य खोज्दै पैसा कमाउन विदेश हानिएकी सपनाको सपना अधुरै बनेको छ ।