इनरुवा । इनरुवा-९ बबिया चाइना स्कूल नजिक हतियार देखाएर रकम लुट्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न सुनसरी भोक्राहाका उमेश मुखिया र सप्तरीका इब्रान मन्सुरी मियांलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई प्रहरीले आज सार्वजनिक समेत गरेको छ ।

पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएकाहरुको साथबाट १ लाख २ हजार रुपैंया र एकथान मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नविन कृष्ण भण्डारीले जानकारी दिए ।

भण्डारीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार हतियार फायर गरी लुटपाट गर्ने मध्ये तीनजना मध्ये अर्का एक भने पक्राउ पर्न बाँकी छ । उनको खोजी भइरहेको भण्डारीले जानकारी दिए ।

२१ गते मालपोत कार्यालय इनरुवामा जग्गा बिक्री गरे वापतको रकम बोकेर घर फर्कने क्रममा हरिनगर २ का सहिरा मिया र आशिफ अन्सारी अज्ञात समूहको लुटपाटमा परेका थिए ।

घर फर्कदै गरेका हजुरआमा र नाती सवार मोटरसाइकललाई लडाएर उक्त समूहले रकम लुटेको थियो । सो क्रममा गोलीसमेत फायर भएको पीडित पक्षले बताएको थियो ।