धरान । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मङ्गलबार) हुन लागेको बृहत् जनप्रदर्शनको पूर्वसन्ध्यामा काठमाडौँमा ‘काण्डैकाण्ड’ मा सहभागी भएकाहरूकाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करी काण्डलगायत काण्डैकाण्डमा मुछिएकाहरूको पुत्ला दहन गर्नका लागि काठमाडौँको भृकुटीमण्डपदेखि पशुपति आर्यघाटमा पुर्याई सोमबार साँझ अन्त्येष्टि गरिएको हो । काठमाडौँमा रहेका राप्रपाका धरान नगर परिचालन कमिटीका संयोजक नरेश शाक्यका अनुसार काण्डैकाण्डमा मुछिएकाहरूको पुत्ला निर्माण गरी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

राप्रपाले गत माघ ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४० बुँदे मागपत्र बुझाउँदै आन्दोलनको घोषणा गरेको थियो । तत्कालीन समयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री दाहाललाई राजनीति, सुशासन, भ्रष्टाचार नियन्त्रण, धर्म परिवर्तनसँग सम्बन्धित माग राखेर आन्दोलनको घोषणा गरेका थिए ।

आज (मङ्गलबार) देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम रहेको छ । राप्रपाले सनातन हिन्दू राज्यको माग गर्दै आएको नगर परिचालन समितिका संयोजक शाक्यले बताए । उनले सङ्घीयता राज्यले धान्न नसकेकाले खारेजीलगायतको माग राखेर आन्दोलन गर्दै आएको बताए ।

आइतबार भने पूर्व सेना मार्चपास, विरोध र्याली निकालेको थियो । जसमा ओम समाज परिवारले पनि ऐक्यबद्धता जनाएको थियो । अहिले राप्रपाले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ । यसका लागि धरानबाट पनि टोली गएको छ ।

राप्रपाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय अस्मिता तथा देशलाई एक सूत्रमा बाँध्ने धर्म–संस्कृति सबै नराम्रोसँग क्षयीकृत भएको जनाएको छ । देश अन्तर्राष्ट्रिय भूराजनीतिको भूमरीमा पर्न थालिसकेकोले पनि प्रदर्शन गर्नुपरेको राप्रपाले जनाएको छ ।

ktm putlannn