धनकुटा । धनकुटामा पोल्ट्री फार्मले कुखुराको सुली थुपार्नका लागि निर्माण गरेको पोखरीमा डुबेका दुई बालकको परिवार र फर्म सञ्चालकबीच आइतबार सहमति जुटेको छ ।

स्थानीय प्रशासनको रोहवरमा फार्म सञ्चालकले मृतकका परिवारलाई जनही १५–१५ लाख रुपैयाँ दिने सहमति भएपछि परिवारजनले मृतक बालकको शव बुझेका छन् । धनकुटा नगरपालिका–१० पारिपात्ले मार्गास्थित विजय पोल्ट्री फार्मले सञ्चालनमा ल्याएको पोखरीमा डुबेर शनिबार धनकुटा नगरपालिका–१० का ११ वर्षीय मनिष खतिवडा र धनकुटा नगरपालिका–९ का १५ वर्षीय दीपेश ओझाको मृत्यु भएको थियो ।

मृत्यु भएपश्चात् पीडित परिवारले  पोल्ट्री फार्ममा आगजनीको प्रयास साथै आन्दोलन गरेका थिए । राति ११ बजेसम्म शवसमेत नबुझ्ने भन्दै आन्दोलन गरेपछि स्थानीय प्रशासनले आन्दोलनरत पीडित पक्षलाई फार्म सञ्चालक झिकाई सहमति गराउने भनेपछि मात्रै आन्दोलन स्थगित गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर अनिलकुमार साहले जानकारी दिए ।

सोही आधारमा स्थानीय प्रशासनले फार्म सञ्चालकसँग छलफल गराएको उनले जानकारी दिए । सहमति भएपश्चात् आइतबार साँझ जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम गरी आफन्तले शव बुझेको इन्स्पेक्टर साहले जानकारी दिए ।