विराटनगर । कर्तव्य ज्यान मुद्दामा अदालतले जन्मकैदको सजाय तोकेका तीन जना अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।

फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियान अन्तर्गत मोरङ प्रहरीले जन्मकैद सजाय तोकिएका तीन जना अभियुक्तलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–१ बस्ने वर्ष ४८ का जितबहादुर राई सोही ठाउँका वर्ष ४१ का गङ्गा भन्ने ज्ञानबहादुर राई र वर्ष ४० का लक्ष्मण राईलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।  जितबहादुर र गङ्गालाई सोमबार र लक्ष्मणलाई मङ्गलबार पक्राउ गरेको उनले बताए । जितबहादुर र ज्ञानबहादुर पक्राउ परेको जानकारी पाउनासाथ लक्ष्मण काँकडभिट्टा हुँदै भारततिर भाग्ने तयारीमा थिए । प्रहरीले खोजी कार्य तीव्र बनाएपछि उनलाई पक्राउ गरिएको डिएसपी दाहालले बताए ।

उनीहरूले २०६४ जेठ २० गते राति मोरङ साविक रमिते–४ हाल मिक्लाजुङ गाउँपालिका–१ का ३८ वर्षीय सन्तोष राईको हत्या गरेको आरोप थियो । हर्कराज राईको घरपैँचोमा भेला भएका बेला आन्तरिक विवाद उत्पन्न हुँदा तीन जनासहित ११ जनाले सन्तोषलाई लाठी र भाटाले कुटपिट गरी हत्या गरेपछि शव मिक्लाजुङ गाउँपालिका–१ स्थित केमुना भञ्ज्याङको जङ्गलमा खाल्डो खनी गाडेको प्रहरीको भनाइ छ । त्यसबेला अन्य ९ जनालाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो ।

२०७७ चैत १८ गते मोरङ अदालतले कर्तव्य ज्यान मुद्दामा ११ जना प्रतिवादीमध्ये ५ जनालाई जन्मकैद, ३ जनालाई जनही ५ वर्ष कैद र ३ जनालाई सफाइ दिने फैसला गरेको थियो । जन्मकैदको फैसला सुनाइएकामध्ये ३ जना हाल पक्राउ परेकाहरू हुन् । १ जनाको मृत्यु भइसकेको र अर्का १ जना विदेशमा रहेको प्रहरीले जनाएको छ । 

उच्च अदालत विराटनगरले २०७८ पुस २३ गते र सर्वोच्च अदालतले २०८० साउन १६ मा जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो । यो घटनामा पक्राउ परेका तीन जनालाई कैद भुक्तानको लागि अदालतमा उपस्थित गराएर मोरङ कारागार पठाएको डिएसपी दाहालले बताए ।