विजयपुर । कोशी राजमार्ग अन्तर्गत तरहरादेखि धरान तीनकुनेसम्मको ६ लेन सडक निर्माण चाँडो गर्न माग गर्दै अदालतमा रिट परेको छ ।

सार्वजनिक सरोकारको विषयमा अधिवक्ता रविन्द्रकुमार भगतले १५ दिनभित्र पिच गर्न माग गर्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरेका हुन् । उनले प्यासिपिक जेभी इन्जिनियरिङ प्रा.लि., प्रा.लि.का प्रोप्राइटर ठाकुरप्रसाद कँडेल, हिमडुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रा.लि.का प्रमुख बहादुर सिंह लामा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल सरकार मन्त्रिपरिषद् कार्यालय काठमाडौं र जिल्ला प्रशासन कार्यालय सुनसरीविरुद्ध उत्प्रेषणयुक्त परमादेश रिट निवेदन दिएका हुन् ।

३ वर्ष ९ महिनामा पनि सडक नबन्दा वातावरणीय एवम् मानवीय क्षतिमात्र नभई सवारीसाधनको यान्त्रिक क्षति भएको समेत उल्लेख गरिएको छ । बाटो निर्माण गर्ने ठेक्का पाउने कम्पनीले सडक निर्माणमा चासो नदिएको रिट निवेदनमा भनिएको छ । बाटो समयमा निर्माण नहुँदा वातावरणमा प्रत्यक्ष असर मात्र पुगेको छैन, त्यस वरिपरि रहेका वन्यजन्तुहरू समेत प्रभावित भएका छन् । सडकबाट हजारौंको सङ्ख्यामा आवत–जावत गर्ने यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको रिटमा भनिएको छ । ‘धुलोका कारण बाटो आवत–जावत गर्न कठिन मात्र भएको छैन, कुन बेला दुर्घटना हुन्छ, त्यसको कुनै अनुमान गर्न सकिँदैन ।’

यसबाट हजारौंको सङ्ख्यामा यात्रुहरूको मौलिक हकको रूपमा रहेको स्वच्छ वातावरणको हकसम्बन्धी मौलिक हक गुमेको मात्र छैन, स्वस्थ जीवन बाँच्न पाउनु पर्ने अधिकारबाट बञ्चित भएको रिट निवेदनमा उल्लेख छ । रिट निवेदनउपर यही चैत १३ गते पेशी रहेको अधिवक्ता भगतले जानकारी दिए । जनताको संविधानप्रदत्त मौलिक हक, स्वास्थ्यसम्बन्धी हक, उपभोक्तासम्बन्धी हक गुमेको रिट निवेदनमा भनिएको छ । मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ३ को नागरिक अधिकारसम्बन्धी व्यवस्था दफा २० तथा नेपालको संविधान २०७२ को धारा ३५,४४ र ४६ बमोजिमको प्रदत्त मौलिक हकसमेत हनन् भएको रिटमा भनिएको छ ।

सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/०७९ मा धरान–इटहरी सडक–खण्डमा ५३ वटा दुर्घटना भई ६ जनाको ज्यान र ८८ जनाको अङ्गभङ्ग भएको उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७९/०८० मा २३ वटा दुर्घटना भई ३ जनाको ज्यान गएको ४३ जनाको अङ्गभङ्ग भएको छ । आर्थिक वर्ष २०८०/०८१ को हालसम्म ६ वटा दुर्घटना भई १ जनाको ज्यान गएको र १० जनाको अङ्गभङ्ग भएको छ ।