शनिबारदेखि धरान-६ स्थित पानवारीमा आयोजना भइरहेको पानवारी शत वार्षिकी महोत्सवमा स्थानीय कृषि उत्पादन र मौलिक खानाका परिकारको बिक्री वितरणबाट  शनिबार १० लाख बढीको कारोबार भएको छ ।

महोत्सवमा फलफूल प्रशोधन उद्योग, एग्रो टुरिजम एण्ड रिसर्च सेन्टर, स्थानीय कृषि सहकारीका उत्पादनका स्टलहरु मुख्य आकर्षणका रुपमा देखिएका छन् ।

स्थानीयस्तरको अर्थतन्त्रलाई चलायमान बनाउन मेला महोत्सवले अर्थपूर्ण भूमिका खेलिरहेको अवस्थामा स्थानीय घरेलु उद्योग व्यवसायको प्रवर्द्धनका लागि शतवार्षिकी महोत्सवले 'प्लेटफर्म' प्रदान गरेको महोत्सव व्यवस्थापन समितिका संयोजक राजेन्द्र न्यौपानेले बताए ।

उद्योग व्यापारमा देखिएको शिथिलतालाई चलायमान बनाउन महोत्सवले सहयोग गर्ने आयोजक क्लब सयपत्री बोइज युनियन क्लबका उपाध्यक्षसमेत रहेका संयोजक न्यौपानेले बताए ।

'महोत्सवमा पानवारीको पहिचानका रुपमा रहेका पानवारी मन्सुली, पानवारीको उखु, पानवारीको पान, फलफूल नर्सरी, स्थानीय जातीय परिकारहरु मुख्य रुपमा उपलब्ध छन्,' संयोजक न्यौपानेले भने, 'महोत्सवका सात दिनसम्म १ करोड बढीको व्यापार व्यवसाय हुने अनुमान गरेका छौँ ।'

४० स्टल तयार गरिएको महोत्सवमा कृषि उत्पादनको कारोबारबाहेक खाद्यान्न, पेय पदार्थ, जुताचप्पल,
बालबालिका र युवा लक्षित दर्जनौं खेल तमासा रहेका छन् । महोत्सवमा दैनिक राष्ट्रिय कलाकारका साङ्गीतिक प्रस्तुति, स्थानीय जातीय झाँकीसहितका सांस्कृतिक कार्यक्रम प्रस्तुत भइरहेको आयोजक क्लबका महासचिव केदार बस्नेतले जानकारी दिए ।

Panbari Mahotsav

साविक पाँचकन्या बस्ती स्थापनाको एक सय वर्ष पुगेको अवसरमा शतवार्षिकी महोत्सव आयोजना गरेको महासचिव बस्नेतले बताए ।

'महोत्सवमा स्थानीय उत्पादनको कारोबारलाई प्रवर्धन गर्न आयोजना गरिएको भए पनि आयोजकको नाफा कमाउने उद्देश्य होइन,' महासचिव बस्नेतले भने ।

छैठौं पानबारी भलिबल प्रतियोगिता
शतवार्षिकी महोत्सवको मुख्य आयोजनाका रुपमा रहेको छैठौं पानबारी भलिबल प्रतियोगिताको दोस्रो दिन आइतबार कोशी प्रदेश भलिबल ट्रेनिङ सेन्टर दमकले सतिसाले स्पोर्टिङ क्लब मोरङलाई ३–२ सेटमा पराजित गरेको छ ।
म्यान अफ द म्याच सतिसालेका उमेश राई घोषित हुँदै नगद २ हजार पाँच सय रुपैयाँ हात पारे । सोमबार बेलबारी नगरपालिका र कोशी प्रदेश प्रहरी ट्रेनिङ सेन्टर रानी मोरङ बीच हुनेछ । 

यसअघि प्रतियोगिताको पहिलो दिन आयोजक सयपत्री बोइज युनियन क्लबले धरान उपहानगरपालिकालाई ३–१ को सेटमा पराजित गरेको थियो ।

प्रतियोगिताको विजेताले ३५ तोला चाँदीको ट्रफी र नगद १ लाख रुपैयाँ नगद प्राप्त गर्नेछ । उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद ३० हजार पुरस्कार दिइनेछ भने अन्य व्यक्तिगत विधामा उत्कृष्ट घोषित खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कमल खत्रीको प्रस्तुति
शतवार्षिकी महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकार र स्थानीय साङ्गीतिक ब्याण्डको प्रस्तुति र सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएको छ ।

आइतबार गायक कमल खत्रीले उपस्थित दर्शकलाई आफ्ना दर्जन सदाबहार गीतहरु मार्फत मनोरञ्जन दिलाए ।
उनले अब जाउला रेलैमा, तिम्रो माया नै काफी छ, सुस्तरी, तिमी मेरो पहिलो माया, म गीत हुँ, फिक्का फिक्का, कोरेर प्रेमपत्र, गल्ती मेरो छैन, आत्मामा.. लगायतका गीत प्रस्तुत गर्दा दर्शक कार्यक्रमस्थलमा झुमेका थिए ।

साङ्गीतिक कार्यक्रममा स्थानीय साङ्गीतिक ब्याण्ड र कलाकारले समेत प्रस्तुति दिएका थिए ।